विदेशिने तयारीमा छन् त्रिविका ‘गोल्ड मेडलिस्ट’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ख्वप कलेजबाट अंग्रेजी साहित्यमा एमए गर्दा ३.९१ सिजिपिए प्राप्त गरी सर्वोकृष्ट भई पलिस्था रञ्जितकारले ‘नरेन्द्रमणि आचार्य दीक्षित पदक’ र ‘डा. मोहनप्रसाद लाखे स्वर्ण पदक’ प्राप्त गरेकी छिन्। रातदिन गरेको मिहिनेतको फलस्वरूप विश्वविद्यालयबाट सम्मानस्वरूप उनले दुईवटा पदक पाएकी हुन्।

त्रिविको ४९औं दीक्षान्त समारोहमा आफ्नो नाम लेखेको कुर्सीमा बसेर पदक पाएकोमा खुसी देखिएकी उनले थप शिक्षा र अवसर प्राप्तिका लागि अमेरिका प्रस्थान गर्ने सोच बनाइरहेको बताइन्। ‘अवार्ड मात्र पाएर भएन नि, जब मार्केटमा अवसर नै छैन भने के गर्नु,’ पलिस्थाले भनिन्, ‘दुईवटा पदकले मलाई निकै प्रोत्साहन गरेको छ। अब मेरो लक्ष्य विद्यावारिधि गर्ने हो। तर नेपालमा पैसा खर्चेर विद्यावारिधि गर्न चुनौती छ,’ उनले यथार्थता सुनाइन्, ‘विदेशमा फन्ड दिएर विद्यावारिधि गराइन्छ। पढाइअनुसार काम र दाम पनि पाइन्छ। अवसर पाए त स्वदेशमै बस्ने र पढ्ने इच्छा हो नि तर नेपालमा विद्यार्थी प्रोत्साहनको कुनै वातावरणै छैन।’

सोही समारोहमा त्रिविको रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट ३.९५ सिजिपिए ल्याएर एमएस्सी रसायन शास्त्रमा सर्वोकृष्ट भई ‘अमृत पदक’ प्राप्त गरेका हिक्मत खनाल पनि थप शिक्षा हासिल गर्न बिदेसिने सुरमै छन्। २६ वर्षीय खनालले स्नातकोत्तर गरे पनि हाल पढाइअनुसारको काम र तलब पाएका छैनन्।

‘म पार्टटाइम टिचिङ गर्छु तर तलब खासै राम्रो छैन,’ दैलेखका हिक्मतले भने, ‘मैले व्यक्तिगत रूपमा मिहिनेत गरेर पदक पाएँ, खुसी छु। तर अबको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ता छ।’ उनले नेपालका विश्वविद्यालयले शैक्षिक गुणस्तर कायम गर्न र स्तर उकास्न अत्यावश्यक रहेको बताए। ‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

जैविक प्रविधि विषयमा ३.८९ सिजिपिए प्राप्त गरी एमएस्सीमा सर्वोत्कृष्ट भई ‘डा. रेखा र लक्षमैयाँ श्रीरामा स्वर्ण पदक’ प्राप्त गरेका विनोद खड्का एकातिर सफलतामा उत्साहित छन् भने अर्कातिर स्वदेशमा अवसर नपाउँदा दुःखीसमेत छन्। ‘साथीभाइ र आफन्तको बधाई पाउँदा उत्साह मिल्यो तर स्वदेशमा अवसर नपाउँदा दुःख लाग्छ,’ विनोदले भने, ‘म पनि विद्यावारिधि गर्न अमेरिका या अस्ट्रेलिया जाने प्रयासमा छु।’ उनका अनुसार गोल्ड मेडल पाएका प्रायः साथी बिदेसिने सोचमा रहेका छन्। बरु अध्ययनपछि नेपाल फर्किने सोच कतिपयमा छ।

सोमबारको दीक्षान्त समारोहमा तीन पदक पाएका कपिल पोखरेलले पनि विदेशमा अध्ययन गर्न जाने सोच बनाएको सुनाए। अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट ३.७८ सिजिपिएसहित एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट भई ‘तारापद चौधरी पदक’, ‘खगेन्द्रमानसिंह प्रधान’ पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार गरी तीन वटा पदक पाएका पोखरेलसमेत विद्यावारिधि गर्न फन्डको खोजीमा छन्।

‘विद्यावारिधि गर्न फन्ड व्यवस्था गरेर विदेश जाने सोचमा छु,’ कपिलले भने, ‘अध्ययनपछि फर्केर स्वदेशमै आफ्नो योग्यता र क्षमता प्रयोग गर्ने मेरो लक्ष्य हो। अब राज्यले पनि अवसरको व्यवस्था गरिदिनुपर्छ।’ झापाका पोखरेलले त्रिविले शैक्षिक गुणस्तर वृद्धि गरी उत्कृष्ट विश्वविद्यालय कायम गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर