जनकपुरधाममा २१ जोडीको निःशुल्क विवाह

विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामूहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।

भगवान् श्रीराम तथा माता सीताको विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । सामूहिक विवाहका लागि लगन आवश्यक नभएका कारणले विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रूपमा उपलब्ध गराएको छ । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला-बेहुलीको छनोट गर्ने काम भएको छ ।

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो । यसैबीच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको सीताराम स्वयम्वरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तर प्रदेशका कलाकार सतीश गुर्जरले पनि सोही सामूहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन् । जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् ।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरूले जनाएका छन् । विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला-बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *