खेतबारीमा  भेटिन थाले दुर्लभ अजिंगर

घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता झापाको भद्रपुर नगरपालिका-३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर अजिङ्गर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर वन कर्मचारी पनि अचम्मित छन् ।
त्यसैगरी भद्रपुर-५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दस केजी तौलको सो अजिङ्गरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जङ्गलमा छाडिदिएका थिए । अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।
अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरूमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जङ्गल वरिपरि पर्दछ । जलथल जङ्गल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ ।
जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ । वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा ११ वटा विभिन्न जातका अजिङ्गरलाई मानिसहरूको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताए ।
उनका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उनले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिए । ‘यो संरक्षित वन्यजस्तुहरूमध्येको घस्रने जन्तु हो,’ उनले भने, ‘मानिसहरू सचेत छन्, दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्नेबित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौँ ।’
जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा केआर खम्बूले जिल्लामा पाइने अजिङ्गरहरू दुर्लभ जातिको रहेको बताए । उनले चिसो मौसममा तातो खोज्दै जङ्गलबाट अजिङ्गरहरू बाहिर निस्कने गरेको जानकारी दिए । ‘घस्रने जातका जन्तुहरूको रगत चिसो हुन्छ,’ उनले भने, ‘हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।’
उनका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जङ्गलमा प्रशस्त मात्रामा आहार पाउने गर्छन् । मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरू गाउँबस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उनले औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर