रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुभव गर्न पाएँ, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भने ।

पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीसँगको सहकार्यमा आयोजित तीनदिने रैथाने बाली उत्पादन तथा परिकार तयारीसम्बन्धी तालिममा सहभागी भइसकेपछि आफूले तालिमबाट धेरै कुरा सिक्न पाएको उनले अनुभव सुनाए ।

रोजगारीका क्रममा २०औँ वर्ष विदेशमा बसेको र गाडीको पेन्टरलगायतका काम गरेको विगत सम्झँदै उनले हाम्रै वरपर रहेका रैथाने प्रजातिबाट धेरै परिकार बनाउन सकिने त्यसबाट स्वरोजगार बन्न सकिने बताए । रोजगारीकै क्रममा बिरामी भएर फर्कनुपरेका धेरै अनुभव सुनाउँदै उनले हाम्रो देशमा ठाउँअनुसार हुनसक्ने खेतीको विस्तार गर्दै त्यसलाई उपयोग गर्न सकेमा विदेश भौतारिनु नपर्ने बताए ।

पहाडी भेगमा पाइने लप्सीबाट धेरै किसिमका परिकार बनाउन सकिने भए पनि त्यो त्यसै खेर गइरहेको जनाउँदै उनले गाउँ बस्तीका किसानलाई यसको उपयोग सम्बन्धमा तालिम दिनु आवश्यक भएको बताए । बस्ताकोटीजस्तै पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए ।

पोखरा महानगरपालिका वडा नं ३२ का रामराज वाग्लेलाई फर्सीको जाम, मसला आदि हुन्छ भन्ने कल्पनासम्म पनि थिएन । तालिममा सहभागी भइसकेपछि त्यही फर्सीबाट धेरै परिकार बनाउन सकिने जानकारी पाएको उनले बताए ।

तालिमकै अर्का सहभागी पोखरा महानगरपालिका वडा नं २४ पामेका किसान रामबहादुर सुवेदीले सयपत्री फूलको जाम, अचार आदि हुन्छ भन्ने सोचेका समेत थिएन । तीनदिने तालिमका क्रममा सयपत्री फूलबाट बन्ने जाम, अचार आदि देख्दा उनी दङ्ग परेका छन् । पर्याप्त सङ्ख्यामा उत्पादन गर्न सकिने सयपत्रीलाई प्रशोधन गरेर खाद्यवस्तु तयार गरेमात्रै पनि आयआर्जन गर्न सकिने आफूले पाएको उनले बताए ।

तालिमका सहभागीलाई सयपत्री फूलको जाम, सिस्नोको आइसक्रिम, फर्सीबाट बन्ने केचप, टिम्मुरे सस, पिरो सस, कोदोको दुनट, कुकिज, सिस्नोको अचार, आइसक्रिम, सयपत्री फूलको आइसक्रिम, अदुवा र लप्सीको क्यान्डी, खट्टामीठा क्यान्डी आदि परिकार बनाउने तालिम दिइएको मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीका प्रमुख प्रशिक्षक पाक महर्षि सन्दीपकुमार केसीले जानकारी दिए ।

उनका अनुसार तालिमका सहभागीलाई चक्लेटले कोट गरिएको अदुवा, फर्सीको ससमा पास्ता, जिङ्गर कोटेड चक्लेट, बे्रड, कुबिन्डो ससलगायतका परिकार बनाउने तालिमसमेत दिइएको थियो । रैथाने बालीबाट धेरै परिकार बनाउन सकिए पनि हामी त्यसको बेवास्ता गर्दै विषादीयुक्त वस्तु किनेर खाइरहेको उनले बताए ।

विगतमा जण्डिस हुँदामात्रै खाने गरिएको फर्सीबाट बन्ने परिकारसँगै हाम्रा खेतबारीमा हुने कोदोलगायतका अन्नबाट धेरै परिकार बन्ने कुरा तालिमबाट प्रत्यक्ष जान्न र सिक्न पाइएको पोखरा महानगरपालिका वडा नं १६ स्थित केपसिटी सहकारीका सदस्य चन्द्रकुमारी देवकोटाले बताए । कोदोबाटै चिजवल, पास्ता, चाउचाउ आदि बन्ने रहेछ, हामी त्यो थाहा पाउन नसक्दा बालबच्चालाई दिनदिनै अस्वस्थकर वस्तु खुवाइरहेका छौँ, उनले भने ।

उन्नत जातका नाममा रैथाने प्रजातिसमेत लोप हुँदै जान थालेको वास्तविकतामा महानगरपालिकाले रैथाने बालीको संरक्षणसँगै त्यसबाट बन्ने परिकारको प्रवर्द्धनलाई जोड दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । रैथाने बालीबाट बन्ने परिकारलाई जोड दिन सकिएमा त्यसले समुदायको स्वास्थ्य रक्षामा समेत योगदान गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर