कोलम्बो-लुम्बिनी हवाई सम्पर्कबारे परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच कुराकानी

नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक जारी

परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ।

नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरूआत उत्साहजनक रहेको र कोलम्बो-लुम्बिनीबीच हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे पनि कुरा उठाएका थिए।

यस्तै जलवायु परिवर्तनका कारण आ-आफ्नो मुलुकले भोग्नुपरेका समस्याका बारेमा पनि दुई मन्त्रीबीच कुराकानी भएको थियो।

यसैबीच नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक अहिले बसिरहेको छ।

काठमाडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्रसचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ।

आजै नेपाल र श्रीलंकाबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *