प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमतीलाई हरायो

प्रधाममन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गरेको ।

बागमतीले कोशी प्रदेशलाई जितका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । कोशीको जितमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।

कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रूबिना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक-एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन-तीन जोडे ।

बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई-दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । यस जितसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *