खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध हटाउन सरोकारवालाको माग

सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०२३ को अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वसर्तहरूसम्बन्धी गालेमेच अन्तर्क्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले यस्तो बताएका हुन् । कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले नियन्त्रण गर्न सक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताए ।

सत्तारूढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले नेपाली महिला कामदारहरू वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरूरी रहेको बताइन् । उनले नेपालमा नै महिला श्रमिकहरूले ठूलो पीडा भोग्नुपर्ने अवस्था विद्यमान रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भीर हुन पनि आग्रह गरिन् ।

सांसद कोइरालाले भनिन्, ‘मैले नेपालका श्रमिकहरू हामी यहाँबाट बाहिर जानुपर्ने कारण के हो भनेर खोज्न जरूरी छ । यहाँ जब पाउँदापाउँदै पनि हामी बाहिरकै जबमा किन हामफाली राखेका छौं ? हामीले यो पनि खोज्नु छ । अघि रेष्टुरेन्टमा काम गर्ने श्रमिक महिलालाई पक्रेर लगियो । त्यो महिलाको महिनाको बच्चा छ । तर प्रहरीले त्यो बच्चालाई दूध खुवाउन देऊ न भन्दाखेरि त्यो नदिएको अवस्था पनि मैले देखेको छु ।’

श्रमविज्ञ नेपालले खाडी मुलुकमा घरेलु कामदारको रूपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

नेपालले भने, ‘हाम्रो आफ्नै श्रमसम्बन्धी कानुनमा कन्ट्रोल छैन । जो नीतिहरू हामीले बनाएका छौं, त्यसको कार्यान्वयन गर्न सकिरहेका छैनौं । हामी लाचारीहरू देखाइरहेको अवस्था छ । मजदुर फ्रेन्डली कानुन छैन । अव्यावहारिक भयो भनेर भनिन्छ । मजदुर फ्रेन्डली नीतिहरूलाई हामीले रद्दीको टोकरीमा हालिराखेका छौं । वैदेशिक रोजगारीमा जानका लागि जुन ब्याण्डहरू गरिन्छ । त्यो आफैंमा आपत्तिजनक छ । यो स्वीकार्य कुनै पनि हालत हुनु हुँदैन ।’

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय न्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का निमयहरूको पालना नगर्ने देशहरूमा घरेलु काममा लागि महिलालाई वैदेशिक रोजगारमा पठाउने कुरा उपयुक्त नहुने बताए । उनले त्यहाँ गएर आएका महिलाहरूको पीडालाई पनि सम्बोधन हुने गरी सोसम्बन्धी निर्णय लिनुपर्ने समेत बताए ।

कार्यकारी निर्देशक उप्रेतीले भने, ‘त्यहाँ गएर आएका कोही पनि महिला कामदारहरूलाई खाडी मुलुकमा पठाउने पक्षमा हुनुहुन्न । घरेलु कामदार पठाउने कुरामा त झन कठोर बन्नुभयो । त्यहाँ गएका कामदारहरूले त्यहाँको पीडा भोग्नुभएको छ । आईएलओको नियम, कानुनहरू ती कन्ट्रीहरूले नमानिदिने । अनि हामीले हाम्रा चेलिबटीहरू लुकेर जान थाले, छिटो खुलाइदिनुपर्‍याे भन्न मिल्दैन ।’

कार्यक्रममा आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध फुकाउने विषयमा सरकारलाई आफूहरूले सुझाव दिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर