‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छ : सचेतक बर्तौला

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भिडन्तमा बाहेक हत्या भएको विषयलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउँदै गर्दा गम्भीर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्नु नहुने बताएका हुन्।

उनले दोहोर भिडन्तभन्दा बाहेक मानिसको हत्या भएको अवस्थामा त्यसलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा लिनुपर्ने बताए। त्यस्तैगरी विधेयकमा युद्धमा संलग्न बालबालिकाहरूको विषय पनि समेटिनुपर्ने बताए।

युद्धमा संलग्न बालबालिकाहरूलाई परिपूरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनको भनाइ छ। उनले मानव अधिकार उल्लंघनको घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने बताए।

सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरू कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्टअनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रूपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताए।

उनले न्यायालयप्रति आम नागरिकको विश्वास फितलो हुँदै गएको पनि बताए। न्यायालयप्रति नागरिकको न्यायमा पहुँच नपुगेको र सुशासन कायम नभएको टीकाटिप्पणी हुने गरेको भन्दै उनले यसप्रति सबैको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर