पानीजहाज आक्रमणबारे भारतका रक्षामन्त्रीले भने- आक्रमणका मास्टरमाइन्डलाई समुद्रको पिँधबाट भए पनि निकाल्छौं

हिन्द महासागरमा रासायनिक पदार्थ बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजमाथि शनिबार भएको ड्रोन आक्रमणबारे भारतका रक्षामन्त्री राजनाथ सिंहले प्रतिक्रिया दिएका छन्।

मंगलबार एक सम्बोधनमा उनले यस आक्रमणलाई भारत सरकारले गम्भीरतापूर्वक लिएको बताए।

उनले आक्रमणका मास्टरमाइन्डलाई समुद्रको पिँधबाट भए पनि खाेजेर निकालिने र कठोर कारबाही गरिने बताए।

उनले भारतीय नौसेनाले समुद्रको निगरानी बढाएको पनि बताए।

साउदी अरबबाट भारततर्फ जाँदै गरेको जहाज गुजरातको भेराभाल सहरबाट करिब ३७० किलोमिटरको दूरीमा रहेका बेला उक्त आक्रमण भएको थियो। केम प्लुटो नामको सो रासायनिक पदार्थवाहक जहाजमाथि स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे ड्रोन आक्रमण भएको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणमा इरान संलग्न रहेको आरोप लगाएको छ।

हमलामा मानवीय हताहती र संरचनागत क्षति नभए पनि जहाजमा आगो लागेको थियो र त्यसलाई तत्कालै निभाइएको थियो। उक्त जहाज इजरायलसँग सम्बन्धित रहेको जनाइएको छ।

पेन्टागनले व्यावसायिक जहाजहरूमा सन् २०२१ यता सात पटक इरानी आक्रमण भएको आरोप लगाएको छ। उता इरानी परराष्ट्रमन्त्री होसेन अमिर अब्दोल्लाहियानले भने अमेरिकी आरोपलाई अस्वीकार गरेका छन्।

पछिल्ला साताहरूमा यमनको इरान समर्थित हुथी विद्रोही समूहले लाल सागरमा इजरायलसँग सम्बन्धित व्यावसायिक जहाजमा ड्रोन र रकेटले आक्रमण गर्दै आएका छन्। तर, हिन्द महासागरमा भने यस्तो आक्रमण भएको यो पहिलो पटक हो।

इजरायल-हमास युद्ध सुरू भएयता पश्चिम एसियामा क्षेत्रीय तनाव उत्पन्न भएको छ भने सामुद्रिक मार्गमा नयाँ जोखिम देखापरेको भन्दै अधिकारीहरूले चिन्ता प्रकट गर्दै आएका छन्।

यसै सन्दर्भमा गत सोमबार लाल सागरमा जहाज आवतजावतको सुरक्षाका लागि अमेरिकाले दशवटा देशसँग सहकार्य गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर