पूर्वडीआईजी शाह रकम हिनामिना प्रकरणमा दोषी ठहर

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

२० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले बुधबार पूर्वडीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको हो।

दोषी ठहर भए पनि उनीहरूविरूद्ध सजाय निर्धारण हुन भने बाँकी छ। सजाय निर्धारणको मिति पुस २५ गते तोकिएको छ।

उनीहरूबाहेक लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन्।

जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियारले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहका पूर्वडीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरू, लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशुंखेविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरूवा भएको ठाउँबाट पाउने गरी सरूवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरूको २०७२ माघ र फागुनको तलब भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरू तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलबभत्ता खान पाउने गरी सरूवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रूपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

२०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थिए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर २ दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो। शाहसहितले जम्मा ३३ लाख ३८ हजार ८४ रूपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको थियो। शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वडीआईजी शाह प्रसिद्ध साहित्यकारसमेत हुन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथासंग्रहहरू प्रकाशित छन्। उनको कथासंग्रह ‘छापामारको छोरो’ का लागि उनले वि. सं. २०६३ को मदन पुरस्कार पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *