पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक पुनको योग्यतामाथि प्रश्न

पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको योग्यतामाथि सांसदहरूले प्रश्न उठाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले हालै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेसँगै सांसदहरूले यसको बिरोध गरेका हुन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले कार्यकारी निर्देशकमा नियुक्तिका लागि पुनको योग्यतामाथि प्रश्न उठाएका हुन् । सांसदहरूले उनको शैक्षिक योग्यता, अनुभव र धर्मलगायतका विभिन्न विषयहरूमाथि प्रश्न तेर्स्याएका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद एकनाथ ढकालले पुनको नाम समानुपातिक उम्मेदवारको सूचीमा रहेको उल्लेख गर्दै यस्तो व्यक्ति राज्यको कुनै पनि निकायमा नियुक्त हुन नसक्ने बताए । उनले यस्तो विवादित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाउन नहुने धारणा राखे ।

ढकालले पशुपति क्षेत्र विकास कोषमा धेरै कर्मचारीहरू नियुक्त गर्ने गरिएको भन्दै कुन कानुन र नियमावलीमा टेकेर कर्मचारी नियुक्त गरिएको हो भनी प्रश्न गरे । उनले कर्मचारी नियुक्तिको मापदण्डबारे पनि प्रस्ट पारिनुपर्ने बताए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिको मापदण्ड पूरा नभएकाले प्रश्न उब्जिएको बताए । उनले कानुनबमोजिम नियुक्ति भए नभएको सन्दर्भमा सम्बन्धित निकायले प्रस्ट्याउनुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यलाई नियुक्त गरिएको भन्दै आफ्नो कार्यकर्ता नैतिक रूपले राख्न नमिल्ने बताए । उनले सो नियुक्तिमा योग्यताको समेत ख्याल नगरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्बी भएको प्रचार रहेको उल्लेख गर्दै यदि सो कुरा सत्य भएमा राज्यले हिन्दु धर्मावलम्वीहरूप्रति अन्याय र अपराध गरेको ठहर्ने बताए । उनले पुनको धर्म र शैक्षिक योग्यतामाथि छानबिन गर्नुपर्ने माग गरे ।

नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनमाथिको आक्रमण महिला, जनजाति र कर्णाली भेगमाथि भएको प्रहार भएको बताइन् । पुनको योग्यतामाथि प्रश्न उठाएर दुर्व्यवहार र अपमान गरिएको भन्दै आपत्ति प्रकट गरिन् । उनले पुन क्रिश्चियन धर्मावलम्बी भएको प्रचार गरिएको भन्दै यसको विरोध गरिन् । पुन हिन्दु धर्मावलम्बी भएको उनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले पुनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण रहेको बताए । उनको १५ वर्षे अनुभव विभिन्न मिडिया, एफएमहरूमा काम गरेको देखिएको उनको भनाइ छ ।

सांसदहरूले पशुपति क्षेत्र विकास कोषका अन्य विभिन्न गतिविधिहरूमा पनि प्रश्न उठाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *