बालकुमारी घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

ललितपुरको बालकुमारीमा कोरियन भाषा प्रशिक्षार्थीले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु हुने गरी भएको घटना छानबिनका लागि सरकारले समिति गठन गरेको छ। गृह मन्त्रालयले घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल सदस्य छन्।

शुक्रबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडीमा बालकुमारीमा आगजनी भएको थियो। त्यसपछि स्थिति तनावग्रस्त बन्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।

त्यसबीच घाइते भएका दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्। राउतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित समूहले दिउँसो मन्त्रीको गाडीमा आगजनी गरेपछि दुई घन्टाभन्दा बढी समय बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको थियो।

प्रहरीले ५४ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर