बलात्कार मुद्दामा दोषी ठहरिए सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले सन्दीपमाथिकाे आरोप पुष्टि हुने फैसला सुनाएका हुन् ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाे छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरूद्ध २१ भदौ, २०७९ प्रहरी वृत्त गाैशालामा बलाक्तरसम्बन्धी उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको पीडित किशाेरीकाे उजुरी थियो ।

त्यसबेला सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलाएकामा काठमाडाैं जिल्ला अदालतले  पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसविरूद्ध सन्दीप उच्च अदालत गए । २८ पुस, २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्ट्याउँदै २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टुको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन, २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।

*शीर्षक सच्याइएकाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *