म कांग्रेसभित्र कुनै तरंग ल्याउने पक्षमा छैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन्।

अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो।

अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए।

कांगे्रस महामन्त्री विश्वप्रकाश शर्माको देशलाई आवश्यक नभएका ठूल्ठूला भ्युटावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्न गरे।

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए। मन्त्री ज्वाला पुगेपछि भिड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले आफनो पार्टी राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *