‘सुधारोन्मुख’ हाेइन ‘मन्दी’ मै छ अर्थतन्त्र

नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्थाबारेको सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाबारे गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

परिसंघले गरेको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । परिसंघ अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रमा सुधार भएको दाबी गरे पनि परिसंघको सर्वेक्षणले सुधार भएको नदेखाएको बताए ।

उनले कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र समग्र बजार माग खस्किरहेको देखिएको दाबी गरे । उनले अर्थतन्त्रमा आएको मन्दीका कारण उद्योगहरूको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको उल्लेख गरे ।

उनले परिसंघको सर्वेक्षणले औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएकामा चालु आवको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको बताए । अध्यक्ष अग्रवालले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन देखिएको उल्लेख गरे ।

उनले गत आर्थिक वर्षको तुलनामा उद्योगहरूको कारोबार रकम पनि ३०.५४ प्रतिशतले खुम्चिएको बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको सर्वेक्षणले देखाएको बताए ।

अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त असाधरण खालको डेडलक देखिएको बताए । उनले अर्थतन्त्रमा बैंकको ब्याजदर घटे पनि बजार माग बढे पनि अर्थतन्त्र सुधार हुने अवस्थामा नभएको परिसंघको धारणा रहेको बताए ।

उनले अर्थतन्त्रमा देखिएको असाधरण खालको ‘डेडलक’ लाई सुधार गर्न गर्नुपर्ने उपायको खोजीमा अर्थतन्त्रका जानकारहरूसँग छलफल गर्ने तयारीमा रहेको बताए ।

उनले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरे । तीन त्रैमासिकदेखि अर्थतन्त्र नेगेटिभ ग्रोथमा चलिरहेको उनको भनाइ छ । सरकारले अर्थतन्त्र सुध्रिएको दाबी गर्न आफूअनुकुल विवरण देखाउने गरेको उल्लेख गरे ।

बजारमा मागमा आएको उच्च गिरावटले अर्थतन्त्रलाई मन्दीमा लगेको प्रमाणित हुने दाबी गरे । उनले बजारमा मागको कमी अन्तर्राष्ट्रिय रूपमा मूल्यवृद्धि भएकाले भएको बताए । उनले बजार मूल्यलाई नियन्त्रण गर्न सरकारको नीतिले नसकेको बताए ।

कोभिडको समयमा राष्ट्र बैंकले लिएको खुला नीतिलाई कडाइ गरेकाले माग घट्न गएको अध्यक्ष अग्रवालको भनाइ छ । उनले बजारको माग बढाउने वा घटाउने भन्ने सरकारको नीतिमा निर्भर हुने उल्लेख गरे ।

उनले सरकारले पुँजीगत खर्च गर्न सके मात्रै मुलुकको अर्थतन्त्र चलायमान हुने बताए । अर्थतन्त्र सुधार गर्नका लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भए पनि खर्च बढाउन नसकेको निष्कर्ष उनको छ ।

उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने ४० अर्ब रूपैयाँ भुक्तानी सरकारबाट हुन आवश्यक रहेको बताए । उनले सरकारले बैंकको ब्याजदर घटाउने कुरा गरिरहेको भए पनि सरकार आफैंले साधरण खर्च धान्नका लागि बजारबाट पैसा उठाइरहेको दाबी गरे।

अध्यक्ष अग्रवालले सरकारले बजारबाट पैसा उठाइरहेकाले पनि बैंकको ब्याज पूर्ण रूपमा घट्न नपाएको बताए । उनले व्यवसायीहरूको बजारमा फसेको पैसा नउठ्ने समस्याले बैंकबाट ऋणसमेत लिन नसकेको बताए । बैंकमा तरलता भए पनि खराब कर्जा वृद्धि हुने डरले बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको दाबी उनको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर