शिप बिल्डिङको परीक्षामा सहभागीलाई पनि ईपीएस फाराम भर्न दिनेबारे कोरिया सकारात्मक

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लािग कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो ।

सो क्रममा पानीजहाज बनाउने (शिप बिल्डिङ) का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए । नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उनको भनाइ छ ।

नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मक रूपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए । ईपीएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उनको भनाइ छ । यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ ।

दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ । नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रूपमा छ । कोरियामा रोजगारीका लागि बर्सेनि लाखौँ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन् । हाल एक लाख ७५ हजार नेपाली नागरिकले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुखद् भएको जनाउँदै कोरिया सरकारका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *