भोलि नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरको यस्तो छ दुईदिने भ्रमण कार्यसूची

भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार नेपाल आउँदै छन्। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले जयशंकरको नेपाल भ्रमणबारे विज्ञप्ति निकालेर औपाचारिक जानकारी गराएका छन्।

जयशंकर आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।

विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गर्ने छिन्।

जयशंकरको नेपाल भ्रमणको मुख्य उद्देश्य भनेको बिहीबारदेखि सुरू हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुनु हो। यस संयन्त्रलाई दुई देशको सम्बन्ध र सहकार्यको व्याख्या गर्ने सम्पूर्ण म्यान्डेट दिइएको हुन्छ।

बिहान काठमाडौं आइपुग्ने जयशंकरले संयुक्त आयोगको बैठकअघि केही उच्चस्तरीय भेटवार्ता गर्ने छन्।

सबैभन्दा पहिला उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नेछन् भने त्यसपछि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्ने कार्यसूची छ।

यस्तै दिउँसाे होटल याक एण्ड यतिमा बस्ने तय भएको संयुक्त आयोगको बैठकअघि जयशंकरले सोही होटलमा आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेट गर्ने छन्।

त्यसपश्चात् उनी संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

बैठकको नेतृत्व नेपालका तर्फबाट मन्त्री साउद र भारतका तर्फबाट जयशंकरले गर्ने छन्। बैठकमा दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता पनि यसमा समावेश छ।

बैठकपछि उनी परराष्ट्र मन्त्रालयले सोही होटलमा राखेको दिवाभाेजमा सहभागी हुने छन्।

जयशंकरले बिहीबार नै पूर्वप्रधानमन्त्रीद्वयसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ।

उनकाे खानपान र बसाेबासकाे व्यवस्था साेल्टी हाेटलमा मिलाइएकाे छ।

आफ्नो भ्रमणको दोस्रो दिन शुक्रबार जयशंकरले धार्मिकस्थल पशुपतिनाथको दर्शन साथै पुस्तकालय तथा अन्य पुनर्निर्माणका कार्यकाे अवलकोन गर्ने छन्।

आफ्नो भ्रमण कार्यक्रम सकेर उनी शुक्रबार नै दिल्ली फिर्ता हुने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *