सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा अघि बढ्न सकेन एनसेलविरुद्धको मुद्दा

सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा उच्च अदालत पाटनमा एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको मुद्दा लम्बिएको छ । अदालतले एनसेल खरिद–बिक्रीसम्बन्धी रिटमा आजियाटा र स्पेक्ट्रलाइट युकेलाई समेत छलफलका लागि बोलाउने आदेश दिएको थियो । तर, म्याद तामेल गर्न ठेगाना भेट्नै नसकेपछि यो मुद्दा लम्बिएको हो। न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले दुवै पक्षलाई २५ पुसका लागि छलफलका लागि बोलाएको छ ।

गत २ पुसमा अदालतले आजियाटा र स्पेक्ट्रलाइट युकेको नाममा राष्ट्रिय दैनिक अखबारमा सूचना जारी गर्न आदेश दिएको थियो । जसअनुसार दुई कम्पनीको नाममा ‘द राइजिङ नेपाल’मा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सार्वजनिक सूचना आह्वान गरिएको थियो । तर, कम्पनीहरूको जानकारी यकिन नभएकाले सुनुवाइ हुन नसकेको अदालतको आदेशमा उल्लेख छ ।

आजियाटाको वेबसाइटमा उल्लेखित इमेल ठेगानामा पत्राचार गर्ने स्पेक्ट्रलाइट युकेको नाममा पुनः अखबारमा सूचना जारी गर्न अदालतले आदेश दिएको छ । त्यस्तै, अन्तरिम आदेश छलफलका लागि आगामी २५ पुसमा दुवै पक्षलाई अदालतमा बोलाएको उल्लेख छ । गत २१ मंसिरमा अदालतले छलफलको टुंगो नलागेसम्म एनसेल खरिद–बिक्री दर्ता नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई अन्तरिम आदेश दिएको थियो । म्याद तामेल हुन सक्दा एनसेलको मुद्दा थप लम्बिने देखिएको हो ।

आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत हिस्सा (सम्पूर्ण सेयर) बेलायतको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्ने विषय सार्वजनिक भएपछि यो विवादमा परेको छ । आजियाटाले वक्तव्य जारी गर्दै स्पेक्ट्रलाइटसँग एनसेलको सेयर ‘खरिद–बिक्री सम्झौता’ भइसकेको सार्वजनिक गरिसकेको छ । तर, नियामक निकायले यस सम्बन्धमा जानकारी नभएको उल्लेख गरेपछि यो विषय थप विवादमा परेको हो ।

आजियाटा समूहले एनसेलमा रहेको आफ्नो सेयर हिस्सा पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा बिक्री गरेको बताएको छ। सन् २०१६ मा एक अर्ब ३६ करोड ५१ लाख डलर (तत्कालीन समयको विनिमय दरअनुसार करिब एक खर्ब ४३ अर्ब रुपैयाँ)मा टेलियासोनेरासँग ८० प्रतिशत सेयर खरिद गरेर आजियाटा एनसेलमा भित्रिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर