सुरू भयाे नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको साताैं बैठक

काठमाडौंस्थित होटल याक एण्ड यतीमा नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ ।

बैठकको अध्यक्षता नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकरले गरेका छन् ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर आजै बिहान नयाँ दिल्लीबाट काठमाडौ आइपुगेका थिए । बैठकअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

करिब तीन वर्षपछि बसेको संयुक्त आयोगको बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरवलोकनलगायत विषयमा छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न ९ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बीडब्ल्यूजी) का विषयमा पनि छलफल हुनेछ ।

बैठकपछि १३२ केभीएका तीनवटा प्रसारण लाइनको दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल-परवानीपुर प्रसारण लाइन, कुशाहा-कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा-मैनाहिया प्रसारण लाइनको उद्घाटन हुने भएको हो ।

यसअघि ऊर्जा मन्त्रालयमा दुई देशका ऊर्जासचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालको ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले उक्त सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

संयुक्त आयोगको बैठकपछि त्यसलाई सार्वजनिक गरिने जनाइएको छ ।

यस्तै काठमाडौंस्थित भारतीय दूतावासले सिधै लगानी गर्ने अनुदानको रकम बढाउने समझदारी पनि हुँदैछ । यसअघि साना विकास कार्यक्रमको नाममा आइरहेको उक्त अनुदानलाई भारतीय दूतावासले हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीडीपी) नाम दिएर सञ्चालन गरिरहेको छ ।

तीन करोडबाट सुरू भएको उक्त कार्यक्रमममा अहिले सिधै २० करोड रूपैयाँसम्म लगानी गर्न पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *