नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सकियो, के-के विषयमा भयो छलफल ?

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सकिएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बिहीबार बैठक बसेको हो ।

बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिलगायतका विषयगत क्षेत्रहरूअन्तर्गत नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेका छन् ।

बैठकअघि दुई देशका परराष्ट्रमन्त्रीहरूबीच छुट्टै भेटवार्ता पनि भएको थियो । त्यसअघि मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।

जयशंकर अब सोही होटलमा परराष्ट्र मन्त्रालयले राखेको दिवाभोजमा सहभागी हुनेछन् ।

त्यसपछि उनले आजै पूर्वप्रधानमन्त्रीद्वयसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेकाे छ । सो रात्रिभोजमा मन्त्री जयशंकरलगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहने छ ।

संयुक्त आयोगको बैठकअघि ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयमा आयोजित नेपाल-भारत ऊर्जासचिवस्तरीय बैठकमा नेपाल-भारत दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको थियो ।

गत जेठमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएको भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमतिलाई अन्तिम रूप दिइएको हो ।

सम्झौतामा नेपालका ऊर्जासचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन् ।

यसबाहेक भारतीय विदेशमन्त्रीको दुईदिने नेपाल भ्रमणमा तीनवटा प्रसारण लाइनसमेत उद्घाटन हुनेछ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले संयुक्त रूपमा १२३ केभीए क्षमताको कटैया-कुशाहा प्रसारण लाइनको दोस्रो खण्ड, १३२ केभीए क्षमताको रक्सौल-परवानीपुर प्रसारण लाइनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या-मैन्हिया प्रसारण लाइनको उद्घाटन गर्ने छन् ।

दिल्ली फिर्ता हुनुअघि भारतीय विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान पशुपतिनाथकाे दर्शन, भारत सरकारकाे सहयाेगमा नेपालमा भइरहेका पुनर्निर्माण कार्यकाे अवलाेकन तथा पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

उनी शुक्रबार नै दिल्ली फर्किने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *