भारत फर्किए विदेश मामिलामन्त्री डा. एस जयशंकर

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्।

परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विदेशमन्त्री जयशंकरलाई विमानस्थलमा बिदाइ गरे।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए।
बैठकमा नेपालबाट भारतले १० वर्षको अवधिमा १० हजार मेगावाट बिद्युत खरिदगर्ने, भारतले स्थानिय, प्रदेश र संघिय इकाइहरुको माग अनुसार साना परियोजनामा २० करोड रुपैयाँसम्म लगानीगर्न सक्ने सम्झौतामा हस्ताक्षर भएको छ । भारतले नेपाललाई जाजकोट भूकम्प पुननिर्माणका लागि १० अर्व रुपैयाँ सहयोग गर्ने घोषणा विदेशमन्त्री जयशंकरले गरेका छन् ।

यस्तै नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ प्रक्षेपणका लागि भारतसँग सम्झौता भएको छ ।

काठमाडौंस्थित होटल याक एण्ड यतीमा बिहीबार बसेको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा उक्त स्याटेलाइट अन्तरिक्षमा पठाउनका लागि भारतसँग सम्झौता भएको हो ।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्युस्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि भारतसँग सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

नेपालमा बनाएर भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको आकार नेपाली स्याट–१ जस्तै छ।

नेपाल र भारत जोड्ने १३२ केभी क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन भएको छ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले बिहीबार संयुक्त रूपमा यी प्रसारण लाइन उद्घाटन गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।

भारतको बिहार राज्यसँग जोडिने रक्सौल(परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र उत्तर प्रदेशसँग जोडिने मैनहिया–सम्पत्तिया प्रसारण लाइनको उद्घाटन भएको हो।

बिहीबार उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महन्थ ठाकुर, उपेन्द्र यादव र सिके राउत लगायतसँग भेटवार्ता गरे।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार लगायत अन्य चार मुख्य सम्झौतामा हस्ताक्षर भयो।

शुक्रबार स्वदेश फर्किनु अगाडि उनले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे। यस्तै, शुक्रबार नै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको उद्‌घाटन समेत गरे। त्रिवि केन्द्रीय पुस्तकालयको भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो।
यस्तै परराष्ट्रमन्त्री साउद र जयशंकरले भूकम्पपछिको पुननिर्माण परियोजनाको समेत उद्घाटन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *