गाँजा किन्ने पैसा नभएपछि वृद्धाको हत्या र लुटपाट, एक जना पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिका-६, खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेका छन् ।

पचहत्तर वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

‘लामो समयदेखि लागुऔषध दुर्व्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ,’ उनले भने, ‘वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ ।’

वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार रूपैयाँ र उनले लगाएको सुनको एक जोडी बेरूवा र एक थान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडाैँको बूढानीलकण्ठ नगरपालिका-६, च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो ।

‘गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘नगद र गहना लुट्ने क्रममा (वृद्धाले) प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ् ।’

एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजे हत्या भए पनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए । सो घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर