एमाले केन्द्रीय सचिवालय बैठक

राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

६ जना नेता केन्द्रीय सदस्यमा मनोनित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभाको आसन्न निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रियसभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका गरिएको छ । त्यसैगरी बैठकले ६ जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ ।

प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरू कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका रामअवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय बैठकले गरेको पनि महासचिव पोखरेलले बताए ।

त्यसैगरी एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरूलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *