बालसुधार गृहमा ३० वर्षसम्मका युवा

डेढ वर्षभित्र विभिन्न छ वटा बाल सुधागृहमा झडप भएका छन्। भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए । क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ ।

देशका नौ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन् । बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रुपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या सुरु भएको हो ।

नौ वटामध्ये पाँच वटा सुधारगृह सरकारले प्रत्यक्ष रूपमा सञ्चालन गरेको छ भने चार वटा सुधारगृह युसेप नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको छ । नेपालगन्ज, डोटी, पर्सा, मकवानपुर, रुपन्देहीमा सरकारले र भक्तपुर, नेपालगन्ज, विराटनगर, पोखरामा युसेपले बाल सुधारगृह सञ्चालन गरिरहेको छ । आपराधिक कार्य वा बालबिज्याइँमा संलग्न बालबालिकालाई अदालतको फैसलाका आधारमा बालबन्दीका रूपमा यस्ता गृहमा राख्ने गरिएको छ ।

बाँकेको सुधारगृहमा २०७९ पुस १४ गते कैदीबन्दी झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । यही पुस १५ गते बाँकेकै क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधारगृहमा बालबन्दीबिच विवादपछिको झडपमा एक जना घाइते भएका थिए । गत भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधारगृहमा दुई समूहबिच झडप हुँदा स्थिति नियन्त्रणबाहिर गएको थियो । वीरगन्जको यो तनाव भक्तपुरको सानोठिमीस्थित सुधारगृहमा भएको झडपको घटनासँग जोडिएको थियो ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै कैदीबन्दीले भदौ ३ गते बाल सुधारगृहभित्र नाराबाजी र तोडफोड गरेका थिए । तत्कालै १६ जनालाई बाँके र १९ जनालाई भक्तपुरको सुधारगृहमा स्थानान्तरण गरियो । बालबन्दीको आचरण, बानी तथा व्यवहार सुधार्दै शिक्षालगायतको सुविधा उपलब्ध गराउनुपर्नेमा एक वा दुई जना मात्र शिक्षक व्यवस्थापन हुँदा बालबालिकाका सिकाइमा समस्या देखिएको छ ।

तत्कालीन केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदनमा अदालतबाट दोषी ठहर भएका तथा नभएका र सबै उमेर समूहकालाई एकै ठाउँमा राख्दा समस्या रहेको उल्लेख छ । बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले न्यूनतम आवश्यकता पूरा गराउन नसक्दा र क्षमताभन्दा धेरै बालबालिकालाई सुधारगृहमा राख्दा झडपलगायतका समस्या बढिरहेको बताए। युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका युवालाई सुधारगृहमा राख्नु पर्दा समस्या बढिरहेको उल्लेख गरे। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर