चार वर्षपछि हुँदै छ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’, नेपालबाट अर्थमन्त्री महत सहभागी हुने

यसपटककाे समिट यसकारण बन्दै छ खास

यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख) सम्म भारतको गुजरातस्थित गान्धीनगरमा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)’ आयोजना हुँदै छ ।

विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले समिट आयोजना हुँदै आएको हो । समिटको यसपटकको संस्करण १० औं हो ।

सन् २००३ देखि प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको यो समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो । समिटको पछिल्लो संस्करण सन् २०१९ मा भएको थियो ।

यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो । उक्त समिटमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने तय थियो ।

यसपटक आयोजना हुने समिटमा नेपालका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत सहभागी हुने सरकारी स्रोतले जनाएको छ । उनको भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकिएको छ । आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गर्ने सम्भावना छ ।

भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी हुन्छन् । यसपटकको समिटमा पाँच देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरू र नेपालसहित २४ देशका मन्त्रीहरूको सहभागिता रहने छ ।

चाखलाग्दो तथ्य यो छ कि मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसी पनि याे समिटमा सहभागी हुने छन्, जाे आईआईएम अहमदाबादका पूर्वछात्र हुन् । यस्तो अवस्थामा जब उनी गुजरातको माटोमा राष्ट्रपतिका रूपमा पाइला टेक्नेछन्, त्यो पक्कै पनि उनका लागि विशेष अवसर हुनेछ ।

यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचकाे मजबुत सम्बन्ध पनि भाइब्रेन्ट समिटमा फेरि एक पटक देखिने छ ।

स्मरण रहोस्, गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो । सन् २०१४ मा भारतको प्रधानमन्त्री हुनुअघिसम्म उनी यसै राज्यको मुख्यमन्त्री थिए । उनैको मुख्यमन्त्रीकालमा समिट सुरू भएको हो ।

भाइब्रेन्ट गुजरात ग्लोबल समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ । ‘यो साझेदारीले गुजरात र नेपालबीच ज्ञानको आदानप्रदान र नवप्रवर्तनतर्फ बलियो कदमको संकेत गर्दछ,’ सामाजिक सामाजिक सञ्जाल ‘एक्स’ मा जारी सन्देशमा भनिएको छ ।

समिटको १० औं संस्करणअघि गत सेप्टेम्बर २८ मा सम्मेलनको २० वर्ष पूरा भएका अवसरमा ‘समिट अफ सक्सेस’ का रूपमा मनाइएको थियो ।

त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १७ वटा रोड शो आयोजना गरिएको थियो ।

यो समिटले गुजरातलाई देशको विकास इन्जिनका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । राज्यको सामाजिक र आर्थिक स्थितिमा परिवर्तनको सुरूआतसँगै विभिन्न औद्योगिक मापदण्डहरूमा गुजरातलाई यस समिटले अग्रणी राज्य बनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००३ मा गुजरातको मुख्यमन्त्री हुँदा भाइब्रेन्ट समिट सुरू भएको थियो । लगानीकर्तालाई आमन्त्रण गर्न थालेको यो प्रयासले दुई दशक पार गरेको छ । गत वर्ष शिखर सम्मेलनको आयोजना गर्नुअघि प्रधानमन्त्री मोदीले समिट अफ सक्सेस कार्यक्रममा भाग लिएका थिए । यसमा उनले भाइब्रेन्ट गुजरात समिटमार्फत राज्यले कसरी प्रगति गर्‍याे र गुजरात कसरी विकासको इन्जिन बन्यो भनेर चर्चा गरेका थिए ।

गुजरात सरकारले समिटको तयारी अन्तिम चरणमा रहेको जनाएको छ । यसपटकको समिटमा करिब १ लाख पाहुना आउने अनुमान छ । यसमार्फत गुजरातमा ठूलो मात्रामा विदेशी लगानी भित्रने ओपक्षा गरिएको छ ।

राज्य सरकारका अनुसार अहिलेसम्म २८ देश र १४ संस्थाहरूले समिटको साझेदार बन्ने बताएका छन् ।

‘गेटवे टु द फ्युचर’ नाराका हुन लागेको समिटकाे उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने छन् । त्यसका लागि उनी ९ जनवरीमा गुजरात पुग्ने छन् ।

यस समिटमा टेस्लाका सीईओ एलन मस्क पनि आउने चर्चा छ । भारतीय सरकारी स्रोतका अनुसार भारतमा टेस्ला पहिलो विदेशी साझेदार बन्न सक्ने अपेक्षा छ । मस्कलाई राज्य सरकारले समटिमा सहभागिताका लागि निम्ता पठाइसकेको छ ।

टेस्लासँगै एक ईभी कम्पनी र मारूतीले पनि साझेदारी घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यी देश र कम्पनी छन् समिटका साझेदार
गुजरात सरकारका अनुसार हालसम्म समटिको साझेदार बनेका देशहरूमा अष्ट्रेलिया, बंगलादेश, चेक रिपब्लिक, इजिप्ट, इस्टोनिया, फिनल्याण्ड, जर्मनी, इन्डोनेसिया, जापान, केन्या, मलेसिया, माल्टा, मोरक्को, मोजाम्बिक, नेपाल, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, दक्षिण कोरिया, रूवाण्डा, सिंगापुर, तान्जानिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूएई), बेलयात, उरूग्वे, घाना र भियतनाम छन् ।

यस्तै साझेदार संस्थाहरूमा अमेरिकन चेम्बर अफ कमर्स इन इन्डिया, (इपीआईसी इन्डिया) युनिभर्सिटी अफ शिकागो, इन्डो-अमेरिकन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (आईएसीसी), इन्डो-अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, इन्टरनेसनल सोलर एलायन्स (आईएसए), जापान बाह्य व्यापार संगठन (जेट्रो), कोरिया व्यापार तथा लगानी एजेन्सी रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *