वनमन्त्रीसँग विश्व खाद्य तथा कृषि संगठन प्रमुखको भेट, बाँस खेतीबारे छलफल

विश्व खाद्य तथा कृषि संगठन प्रमुख क्यु दोङ युले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गरेका छन् ।

भेटमा नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने र अनुकूलनको कार्यक्तम सञ्चालन गर्नेबारे छलफल भएको छ ।

प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिए ।

गरिबीको रेखामुनिको जनसंख्याको जीवनस्तर उकास्न, जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुन सक्ने उनको सुझाव थियो ।

उनले नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए ।

स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढावा दिनुपर्ने उनले बताए । उनले जैविक विविधताको संरक्षण र खाद्य सुरक्षामा कृषि कार्यक्रम प्रभावकारी हुने बताए ।

भेटमा वन तथा वातावरणमन्त्री डा. महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रूपमा अगाडि बढाउने कार्यक्रम नेपालजस्ता बहुआयामिक जोखिम भएका मुलुकमा आवश्यक रहेको बताए । उनले यस्ता विषयलाई समेटेर कार्यक्रम बनाउन प्रमुख युलाई आग्रह गरे ।

विश्व खाद्य तथा कृषि संगठनका प्रमुख यु नेतृत्वको टोली तीनदिने भ्रमणका लागि काठमाडौं आएको हो । प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालसँग भेट गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले आज अपराह्न भविष्यको स्मार्ट बालीसम्बन्धी नीत संवाद गर्दैछ ।

विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्रसंघअन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामीण विकासमा काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *