स्वास्थ्य बीमा कार्यक्रममा माघ १ गतेदेखि सहभुक्तानी प्रणाली लागू हुने

स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी (को-पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि यो व्यवस्था लागू गरिने बताएको हो ।

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र यसका लागि को-पेमेन्ट लागू गर्न बोर्डले अपिलसमेत गरेको छ ।

बोर्डले प्रेषण सेवासम्बन्धी व्यवस्था पनि लागू गरेको छ । दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्थासमेत लागू गरिएको जानकारी बोर्डले दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रषण सेवासम्बन्धी कार्यविधि, २०८० परिमार्जनसहित लागू गर्न लागिएको बताए । उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित नागरिकहरूलाई १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न आग्रह गरे ।

उनले यो व्यवस्था राष्ट्रको हितमा भएको दाबी गरे । उनले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवासम्बन्धी कार्यविधिको मुख्य उद्देश्य स्वास्थ्य प्रणालीको सबलीकरण गर्ने भएको बताए ।

अध्यक्ष लोहनीले स्टेक होल्डरहरू बीमा बोर्ड, बीमित र सेवा प्रदायकहरू रहेकाले यसमा निजी, सरकारी सरकारी भन्ने नभएको बताए । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको सेवा खरिद गर्ने र बीमितहरूलाई सेवा दिने भएकाले निजी र सरकारी भन्ने नहुने बताए ।

उनले स्वास्थ्य बीमाका लागि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकामा बाँकी रहेको भन्दै २०८० सालभित्र सो स्थनमा प्रवेश गर्ने बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्ने गरी काम गरिरहेको बोर्डले बताएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहितासमेत स्वीकृत गरेको छ । आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने, दाबी व्यवस्थापन शाखा र प्रविधि शाखाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *