संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा अड्किएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा गएर अड्किएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विधेयक अड्किएको विषयमा छलफल गरेर टुंग्याउनुपर्ने बताए।

उनले प्रधानमन्त्री को हुन्छ भनी पात्रलाई लिएर छलफल गर्ने हो भने निर्णय अर्कै हुने तर अनुहार नहेर्ने भए कानुन बनाउन सजिलो हुने बताए। उनले आफूहरू कानुन निर्माणको बहस गर्न खुला रहेको बताए।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले ल्याएको संशोधन विधेयकले अहिलेको गाँठो फुकाउने दाबी गरे।

उनले विगतको विधेयकले काम नगर्दा नै सरकारले अहिले संशोधनको बाटो खोजेको बताए। उनले परिषद् नै निष्क्रियजस्तै बन्ने, अनिर्णयमा बस्ने बाटो फुकाउन सरकारले संशोधन विधेयक ल्याएको बताए।

सांसद बडूले सम्पूर्ण सदस्यको बहुमत भन्ने बित्तिकै कहिलेकाहीँ अध्यक्षले राखेको प्रस्ताव पनि निर्णय नहुने स्थिति बन्ने गरेकाले यो विधेयक ल्याउनुपरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *