वीरगञ्जका मेयर जोडिएको किर्ते नागरिकता प्रकरण : छानबिन गर्न समिति गठन

नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरणमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा ५ दिनभित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । रूबीना श्रेष्ठको नागरिकतासम्बन्धी हराएको प्रमाणको फाइल समितिले फेला पारी जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाइएको एक कर्मचारीले बताए । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरेको अनुसूची फाराम भने अहिलेसम्म फेला परेको छैन ।

‘आमाबाबुको विवरण खुलाइएको फाराम अझै भेटिएको छैन, जन्मदर्तासमेत रेकर्डबाट हटाइएको देखियो,’ भुसालले भने , ‘आन्तरिक अनुसन्धान सकिएपछि मेयर सिंहलाई मात्र बयानका लागि बोलाइने छ ।’ मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरूसँग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८१७ उल्लेख छ । बुवाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ । नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन ।

नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोधपछि गृह प्रशासनमाथि दबाब बढ्दै गएको छ । बुधबार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगञ्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुसपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दिएका थिए ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरूद्ध वीरगञ्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । बुधबार वीरगञ्जका सचेत नागरिक अगुवाहरूको समूहले मेयरविरूद्ध वीरगञ्ज महानगरका विभिन्न स्थानहरूमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएपछि दबाब बढ्दै गएको छ ।

जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी २१ वर्षकी युवतीलाई विपक्षी बनाइएको छ ।

जाहेरी दर्ता गराउनेहरूमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा (एमाले) का मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल र राप्रपाका नेता जलेश्वर सर्राफलगायत रहेका छन् ।

स्रोत : अनिल तिवारी/आईएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *