सकारात्मक मनोवृत्तिका साथ अघि बढ्न सके समाज परिवर्तन सहज : आईजीपी कुँवर

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रबिन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन्।

‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर सङ्कलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने, ‘यस अभियानले स्वाभाविक रूपमा समाजमा चेतना फैलाउने छ, समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ।’

अधिकार र कर्तव्यलाई एकैसाथ लिएर जान नसकेकाले सबै किसिमका समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए।

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

नक्सालस्थित नारायण चौरबाट फोहर सङ्कलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो।

दौडमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा चौथो हुनेलाई पाँच हजार रूपैयाँ पुरस्कारसमेत प्रदान गरिएको थियो। दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *