गृहमन्त्री श्रेष्ठ भन्छन्- मन्त्रालयको संख्या घटाउनुपर्छ कि जस्तो लागेको छ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या घटाउनुपर्ने धारणा राखेका छन्।

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने भन्दै उनले बरू त्यसलाई घटाउनुपर्ने जस्तो आफूलाई लागेको बताएका हुन्।

शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए।

हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो। उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए।

‘यो हस्तकला निर्माण विकास मन्त्रालय नै बनाऔं भन्नुभएको रहेछ। यो मन्त्रालय नै थप्ने कुरामा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन। मन्त्रालय त बरू घटाउनुपर्छ कि जस्तो लाग्छ मलाई पर्सनल्ली,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर पनि यो मन्त्रालय नभए पनि विभागसम्म हुन्छ कि भन्ने तपाईंहरूको अर्को प्रस्ताव पनि छ। त्यसलाई सकारात्मक रूपमा सोच्नुपर्छ जस्तो मलाई लागेको छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए। उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूला उद्योग स्थापना गरेर अघि बढ्न सक्ने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए।

उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *