न्यायाधीशपत्नीले नै किन गर्न खोजिन् सर्वोच्च अदालतअगाडि आत्मदाह ?

कपिलवस्तु जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आइतबार दिउँसो सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरिन् । शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेकी उनलाई सर्वोच्च परिसरमा तैनाथ प्रहरीले तत्काल नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल लगेको छ ।

काठमाडौंको सामाखुसी बस्दै आएकी ३९ वर्षीया आरतीले आफ्नै पति न्यायाधीश गिरीलाई वैवाहिक बलात्कार मुद्दामा कानुनी कारबाही गर्न माग गर्दै आत्मदाहको कोसिस गरेकी हुन् ।

पति गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दा दर्ता गराएकी आरतीले गिरीलाई अदालतबाट धरौटीमा छाडिएको भन्दै उनलाई थुनामै राखेर मुद्दाको अनुसन्धान तथा कानुनी कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

के हो पूरा मामिला ?
रावल र गिरीबीच प्रेम सम्बन्धपछि ०७४ सालमा विवाह भएको थियो । गिरीको यो दोस्रो विवाह थियो । त्यतिखेर गिरी बाँके जिल्ला अदालतमा स्रेस्तेदार थिए । उनी ०७९ असारमा न्यायाधीश भएका थिए ।

न्यायाधीश गिरीले आफ्नी जेठी श्रीमतीलाई मानो चामलसहितको अंश दिएर कान्छी श्रीमतीका रूपमा आरती रावलसँग विवाह गरेका थिए । तत्कालीन समयमा बाँके जिल्ला अदालतमा श्रेस्तेदार रहेका गिरी र रावलबीच ‘प्रेम सम्बन्ध’ पछि विवाह भएको थियो ।

विवाहपछि दिपायल, कैलाली, काठमाडौंलगायतका स्थानमा सँगै बसेका गिरी र रावलबीच २०७९ सालपछि खटपट सुरू भएको थियो । आफूलाई सन्तान प्राप्तिको अधिकारबाट वञ्चित गराइएको भन्दै पटक-पटक झैं-झगडा भएपछि न्यायाधीश बनेको केही समयमै गिरीले २०७९ मंसिर ११ गते पत्नी आरती रावलविरूद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए, जुन विचाराधीन छ ।

न्यायाधीशको क्वार्टरबाटै पैसा चोरेर भागेको भन्दै न्यायाधीश गिरीले कपिलवस्तु प्रहरीमा चोरीको कसुरमा पनि रावलविरूद्ध जाहेरी दिए ।

चोरीको जाहेरी र सम्बन्धविच्छेदको मुद्दा दर्तापछि न्यायाधीशपत्नी आरती रावलले पनि न्यायाधीश गिरीविरूद्ध कपिलवस्तु प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । पारिवारिक मामिला भएको र बलात्कारको संकेत नपाइएको भन्दै प्रहरीले सुरूमा वैवाहिक बलात्कारको जाहेरी दर्ता गर्न मानेको थिएन ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै आरतीले अभियन्तासमेतको साथमा आन्दोलन थालेपछि प्रहरीले गत वर्ष फागुन १४ गते न्यायाधीश गिरीविरूद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेको थियो ।

पति-पत्नीको झगडाबाट सुरू भएको विवादपछि न्यायाधीशपत्नी आरती रावलविरूद्ध कपिलवस्तु जिल्ला अदालतमा गाली बेइज्जतीका सात मुद्दा र बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ ।

यस्तै आरतीविरूद्ध बाँके जिल्ला अदालतमा सरकारी कागजात कीर्तेको मुद्दा पनि दर्ता भएको थियो, जुन मुद्दामा उनी पक्राउ पनि परेकी थिइन् ।

आरतीले गिरीले आफूलाई पहिलो पटक जबर्जस्ती औषधि खुवाएर तीन महिनाको र दोस्रो पटक ०७६ साउनमा कुटपिट गरेर साढे तीन महिनाको गर्भपतन गराएको आरोप लगाएकी छन् ।

न्यायाधीश बनेको आठ महिनापछि (०७९ फागुन १४) गिरी काठमाडौंस्थित न्याय परिषदमा सरूवा भएका थिए । आफूलाई शोषण गर्ने न्यायाधीशलाई अनुसन्धानको दायरामा नल्याएर न्यायालयको कुर्सीमा राखेको भन्दै आरतीले काठमाडौं आएर सर्वोच्च अदालत परिसर र बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गरिन् ।

उनी माइतीघर मण्डलामा अनसनसमेत बसिन् । उनले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा समेत उजुरी दिइन् । दुवै आयोगले प्रहरीलाई पत्र पठाउँदै घटनाबारे चासो राखेका थिए ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गिरीले माइती पक्षलाई डरधम्की देखाएर आरतीलाई मुद्दा फिर्ता गराउन दबाब दिएको आरोप पनि छ ।

वैवाहिक बलात्कार अभियोगमा गिरी काठमाडौंबाट पक्राउ परे । उता आरती पनि सरकारी कागजात किर्तेको कसुरमा पक्राउ परेर हिरासतमा थिइन् । त्यहीबेला गिरी भने धरौटी तिरेर रिहा भए । कपिलवस्तु जिल्ला अदालतमा वैशाख १७ गते २ लाख ७५ हजार रूपैयाँ र काठमाडौं जिल्ला अदालतमा वैशाख १९ गते ५० हजार रूपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए ।

न्यायाधीश गिरी आफूविरूद्ध वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता भएलगत्तै निलम्बनमा परेका थिए । सामान्यतः वैवाहिक बलात्कारको मुद्दामा थुनामा नराखी धरौटीमा रिहा गर्ने गरिन्छ । तर, गिरीलाई थुनामै राख्नुपर्ने र दोषी ठहर गरेर कानुनी कारबाही गर्नुपेर्न मागसहित आरतीले आत्मदाहको प्रयास गरेकी हुन् ।

निलम्बित न्यायाधीश गिरीले आफूलाई दबाबमा राखी जबरजस्ती विवाह गर्न बाध्य पारेको आरोप पनि आरतीले लगाउँदै आएकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *