प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव- काम गर्न नसके राजीनामा दिएर घरमा बस्नुस्

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन्। २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुवालले सुझाव दिए।

उनले अघिल्ला सरकारहरूले कमजोरी गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए। राणा शासन र पञ्चायतविरूद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए।

उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए। उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको पनि दाबी गरे। गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ।

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए। उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए।

उनले हरेक प्रधानमन्त्री र मन्त्रीहरूलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताए। उनले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब रूपैयाँ खर्च भइसकेको र अब ६० अर्ब रूपैयाँ खर्च गरे पनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए।

हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने उनले बताए। काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *