अयोध्यामा जसले कुँदे भगवान् रामको भव्य मूर्ति

त्यसो त अयोध्यामा निर्माणाधीन राम मन्दिरको सोमबार (२२ जनवरी, २०२४) प्राणप्रतिष्ठा हुँदैछ तर त्यसअघि नै सामाजिक सञ्जालमा भगवान् रामको मूर्तिका तस्बिर सार्वजनिक भइसकेका छन्। यसपछि भक्तहरू भावविह्वल भए र ५ सय वर्षको संघर्ष र बलिदानपछि आएको यस पलमा आफ्नो खुसी रोक्न सकेनन्। कृष्णशिलाबाट यो मूर्ति कुँद्ने कर्नाटकका मूर्तिकार अरूण योगीराजको पनि निकै प्रशंसा भइरहेको छ।

अरूण योगीराज मैसुरका बासिन्दा हुन्। उत्तराखण्डको केदारनाथधाममा प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गरेको जगद्गुरू शंकराचार्यको मूर्ति उनले नै बनाएका हुन्। यति मात्र होइन, दिल्लीको इन्डिया गेटमा प्रधानमन्त्री मोदीले अनावरण गरेको नेताजी सुभाषचन्द्र बोसको प्रतिमा पनि अरूण योगीराजले नै बनाएका थिए।

अहिले उनले बनाएको भगवान् रामको मूर्ति राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको छ। यो मूर्ति बनाउँदा उनी सात्विक आहारमा थिए र उनको आँखामा चोट पनि लागेको थियो।

अयोध्याका लागि उनी सबैभन्दा उत्कृष्ट मूर्ति बनाउन चाहन्थे। यस अवधिमा उनले ६ महिनासम्म परिवारका सदस्यलाई पनि भेटेनन्। अयोध्यामा उनी आफ्नो कूलदेवताको पूजा गरेर दिनको सुरूआत गर्थे। त्यसपछि त्यहाँ पण्डितहरूले गर्ने पूजाअर्चनामा सहभागी हुन्थे।

रामकथाका विद्वानहरूले उनलाई मद्दत गरे, उनलाई राम कस्ता देखिन्थे र आमजन उनमा के देख्थे भन्ने भने। मूर्ति बनाउने क्रममा एक दुर्घटना पनि भयो र उनको आँखामा ढुंगाको धारिलो टुक्रा पसेको थियो।

यसपछि उनको शल्यक्रिया भयो। उनलाई केही दिनसम्म एन्टिबायोटिक र पेनकिलरको प्रयाेग गर्नुपर्‍याे। तर, भगवान् रामको भव्य मूर्ति बनाउनबाट उनलाई कुनै पनि कुराले रोक्न सकेन। उनकी श्रीमती विजेताले यो जानकारी ‘न्यु इन्डियन एक्सप्रेस’ लाई दिएकी छन्।

अरूण योगीराजले सन् २००८ मा मैसुर विश्वविद्यालयबाट एमबीए गरेका थिए तर उनले निजी कम्पनीको जागिर छडेर पारिवारिक पेसा रोजे। मैसुरको गुज्जे गौदाना पुराको एक ठाउँबाट ढुंगा ल्याइयो, जसमा रामको मूर्ति कुँदिएको छ। यो दक्षिण भारतको सबैभन्दा प्राचीन ढुंगामध्ये एक हो।

अरूण योगीराजले पहिले नै भनेका थिए कि यो भगवान् रामको बाल स्वरूपको मूर्ति हो, तर यो दिव्य पनि हुनुपर्छ किनभने मानिसहरूले यसमा भगवान देखेर दर्शन गर्नेछन्। अरूण योगीराजका हजुरबुवाले नै उनी मूर्तिकार बन्ने भविष्यवाणी गरेका थिए।

उनी बसवन्ना शिल्पीका १७ नातिनातिनाहरूमध्ये एक हुन्। उनका पिताको नाम योगीराज हो। उनका हजुरबुवाले गायत्री मन्दिर र भुवनेश्वरी मन्दिरका मूर्तिहरू कुँदेका थिए। बसवन्ना शिल्पी मैसुर शाही परिवारका शिल्पाश्री सिद्धलिंगा स्वामीका मनपर्ने शिष्यहरूमध्ये एक थिए। अपइन्डियामा प्रकाशित सामग्रीको भावानुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर