फर्जी कागज बनाएर वैद्य बने ‘माननीय’ र ‘प्रमुख सल्लाहकार’

लामो समयदेखि विभिन्न निकाय र राज्य संयन्त्रलाई समेत गुमराहमा पारी कागज पत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिँड्ने जगदीश वैद्यले सडक र पार्कको नामकरण नै आफ्नो नाममा गराउन सफल भएका छन् । वैद्यको यो कार्य कालीकोट जिल्लाको तिलगुफा नगरपालिकाको राजपत्रमा छपाउन लगाएपछि सार्वजनिक भएको हो ।

आफूलाई प्राडा भनी उल्लेख गर्ने जगदीश वैद्यको आफू ७५३ स्थानीय तहमध्ये करिब दुई तिहाइको प्रमुख सल्लाहकार रहेको दाबी छ ।

‘माननीय विशिष्ट समाजसेवी प्राडा जगदीश वैद्य’ उल्लेख गराई राज्यका विभिन्न निकायबाट पत्र बनाउने पछिल्लो क्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट लेखाएको पत्रमा पनि ‘नेपालको ६७२ पालिकाहरूको प्रमुख सल्लाहकार पदका रही कामकाज गर्दै आउनुभएको’ भनी उल्लेख छ । वैद्य जेभी फाउन्डेसनका केन्द्रीय अध्यक्ष रहेको पनि उल्लेख छ । २०८० मङ्सिर १५ गते समितिका सचिव सुरजकुमार दुराले हस्ताक्षर गरी दिएको धन्यवाद पत्रमा उक्त विवरण खुलाइएको छ ।

तर त्यसबारे आफूलाई कुनै जानकारी नभएको समितिका सभापति रामहरि खतिवडाले बताए । जाजरकोट भूकम्पपछि राहत दिने सन्दर्भमा भने आफू वैद्यसँग गएको उनले बताए ।

सङ्घीय संरचना अनुरूपमा स्थानीय तहहरूलाई फर्जी कागजपत्र र फोटो देखाउँदै उच्च नेतृत्वसम्मलाई गुमराहमा राख्ने काम अहिले गरे पनि यस्तो कार्य लामो समयअघिकै निरन्तरता हो । त्यसै आधारमा स्थानीय तहका जनप्रतिनिधिले स्वघोषित प्राडा वैद्यले स्थानीय तहको सामुदायिक भवन, पार्क, सडक, खानेपानी, विद्यालय भवन लगायतका भौतिक पूर्वाधार निर्माणमा आर्थिक र भौतिकलगायतका सामाजिक कार्यमा सहयोग गर्ने भएपछि वैद्यलाई प्रमुख सल्लाहकारको उपाधि प्रदान गर्दै आएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *