१५ वर्षअघिको हत्या घटनामा अध्यक्ष सिंहसहित ६ जना खोज्दै प्रहरी

१५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो ।

हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ ।

छोराले त्यसविरुद्ध आवाज उठाएपछि हत्या भएको नन्दबहादुरको आरोप छ । उनका अनुसार वीरेन्द्रनगर–३ स्थित तातापानीमा आफन्तको घरमा बस्ने राजबहादुर बसपार्कमा खाना खान्थे ।

खाना खाएर फर्कंदै गर्दा तत्कालीन अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहसहितका माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको देउती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा सिंहसहित कालीकोटका पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।अधिकांश आरोपित तत्कालीन माओवादीको छैटौं डिभिजनका लडाकु थिए ।

आरोपीहरू कहाँ छन् भन्नेबारे जानकारी रहेको र उपयुक्त समय आएपछि पक्राउ गरी कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले भने झूटो आरोप लगाएर संगठनका अध्यक्षमाथि मुद्दा लगाउन खोजिएको बताए । ‘यसमा राजनीतिक प्रतिशोध प्रस्ट देखिन्छ,’ उनले भने, ‘प्रहरीले झूटा मुद्दा लगाएर फसाउन खोजेको देखियो, यदि यो सच्याइएन भने हामी त्यसविरुद्ध आन्दोलनमा जानेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर