करिब ३ खर्ब रूपैयाँ बिगो दाबी गर्दै व्यवसायी विमल पोद्दारसहित १७ जनाविरूद्ध मुद्दा

व्यवसायी विमल पोद्दारसहित १७ जनाविरूद्ध करिब ३ खर्ब रूपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

राष्ट्र बैंक ऐन, २०५८ विपरीत र संगठित अपराध गरेको कसुरमा मुद्दा दर्ता भएको हो । पोद्दार ३३ किलो सुन तस्करी प्रकरणमा समेत मुछिएका व्यवसायी हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पेस गरेको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता भएको हो ।

सीआईबीले ६ मंसिरमा व्यवसायी रूपेश श्रेष्ठलाई हुण्डी कारोबार गरेको तथा अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको निष्कर्ष निकालेका थिए ।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दर्ता हुँदासम्म रूपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

व्यवसायी विमल पोद्दारले पनि रूपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए ।

आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी छन् ।

फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् ।

यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रूपैयाँ विगो माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *