नेपाल एयरलाइन्स र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन तत्काल बुझाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएका अध्ययनका प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलका आधारमा निगम र विमानस्थलहरूको सुधारसम्बन्धी हालसम्मका अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए ।

त्यसैगरी समितिले प्र्र्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्किएर बसेको नागरिक उड्डयनसम्बन्धी विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरूले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर