सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरू आवश्यक : महानिरीक्षक अर्याल

'सीमा क्षेत्रका सशस्त्र प्रहरी कर्मचारीलाई ५ देखि १० लाख रूपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराइन्छ'

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बोर्डर आउट पोष्ट (बीओपी) हरू आवश्यक रहेको बताएका छन्।

मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोष्टको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए ।

उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपीहरू, अत्याधुनिक उपकरणहरू र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहार्दपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य गरिरहेको बताए ।

उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुन सके मात्रै प्रभावकारी हुने बताए । उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए ।

अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणाअनुसार नवीन कार्यक्रमहरू सुरूआत गरिएको बताए । उनले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रूपमा निरन्तरताको घोषणासँगै बीओपीमार्फत सीमा इलाकामा विकासका काल्याणकारी कार्यहरू गर्न आवश्यक रहेको बताए ।

उनले काल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोवास गर्ने आदिवासी, जनजाति, दलित र अल्पसंख्यक समुदायका छात्रछात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजार रूपैयाँका दरले शैक्षिक वृत्ति र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने बताए ।

उनले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ देखि १० लाख रूपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *