काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारले गरे पदबहाली

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले बुधवार पदबहाली गरेका छन्।

गत माघ ३ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरूवा भएर काठमाडौं महानगरपालिका आएका हुन् ।

उक्त निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेसी आयोगमा सरूवा भएर गएका छन् ।

पदबहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा परियारले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए ।

‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो। हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ। यसका लागि हामीले काम गर्नु पर्नेछ,’ उनले भने ।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा काठमाडौंले काम गर्नुपर्ने बताउँदै उनले महानगर गौरव र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।

२०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्रांकित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरेका छन् ।

परियारले अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर