मौन अवधिमा एमालेको चुनावी भेलापछि निर्वाचन आयोगले माग्यो सीडीओसँग जवाफ

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय माैन अवधिमा चुनावी भेला गरेपछि निर्वाचन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग यसबारे जवाफ मागेको छ ।

मौन अवधि सुरू भएपछि प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भए पनि यसविपरीत भेला गरेपछि आयोगले मोरङका सीडीओसँग २४ घण्टाभित्र यससम्बन्धमा सत्यतथ्यसहिको प्रतिवेदन मागेको हो ।

‘संवत् २०८० साल माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगको निर्णयानुसार मिति २०८०/१०/८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको छ । जसअनुसार उक्त अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा सोविपरीत हुने गरी मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको छ,’ आयोगले आफ्नो निर्देशनमा भनेको छ, ‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ ।’

साथै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानून र आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्न गराउन पनि आयोगले सम्बन्धित सबैमा अपिल गरेको छ ।

एमाले र राप्रपाले विराटनगरस्थित होटल ह्यारिसनमा चुनावलक्षित भेला गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *