द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३

द्रौपदी प्राप्तिको कृष्णको प्रस्ताव पनि नमान्ने कर्ण

द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन्। महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए। युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए। अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पूजित थिए। गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यो बेलामा कोही पनि थिएन। थिए त कर्ण जो अर्जुनबाट नै अज्ञानतावश मारिएका थिए महाभारतको युद्धमा। अज्ञानतावश भन्नुको तात्पर्य हो, जलाञ्जलि दिने बेलामा मात्र थाहा भएको थियो, कर्ण त ज्येष्ठ कुन्ती पुत्र थिए भन्ने कुरा माता महारानी कुन्तीकै मुखबाट। कारण थियो, कर्णका बालिग छोराहरू सबै विभिन्न युद्धमा मारिएका थिए र एउटा नाबालिग मात्र दरबारमा थियो। त्यसैले कर्णलाई जल तर्पण दिनका लागि राजमाता महारानीले मुख खोलेकी थिइन्, महाराज युधिष्ठिर कर्ण तिम्रै दाजु थियो, त्यसैले उसको पनि किरिया तिमीले नै गर्नुपर्छ। जलाञ्जलि तिमीले नै दिने हो।

तिनै कर्ण र पाण्डवकी आमा महारानी या पछि माता महारानी वा राजमाता कुन्तीलाई जीवनको अन्तिम घडीमा के लागिरहेको थियो भने कर्णमा साह्रै नै सहनशीलता थियो र कर्म अकर्मको विभेद उसलाई बढी नै थियो। उनका आफ्ना भनेका तीन भाइ छोरा, बहिनी माद्रीका दुई भाइ छोरा र पहिलो सन्तान कर्ण या बसुसेण वा बसुसेनका चरित्रहरू जब केलाउँथिन्, उनलाई लाग्थ्यो सबैभन्दा उम्दा चरित्रको कर्णको नै थियो किनभने उसले आफूलाई समाजका लागि न्यौछावर गरेको थियो। ऊ आफ्ना लागि बाँचिरहेको थिएन। सत्य र इमान्दारिताका लागि जीवन उत्सर्ग गर्नेमा भावी दिनमा कर्णको नाम आउला भन्ने कुन्तीलाई सधैँ लाग्थ्यो।

कुन्तीले द्रौपदीसँग भनेकी पनि थिइन्- पाञ्चाली, कर्णले कृष्ण, भीष्म पितामह, इन्द्र तथा मसँग उसले एउटै वाचा गरेको थियो र त्यसलाई उसले पूरा गरेको पाइयो। साँच्चै भनौँ भने पितामहले सकेसम्म कर्णको आफ्ना कर्ण र उसका पाँच भाइका बिचमा लडाइँ नै नहोस् भनेर आफू सेनापति रहेसम्म कुनै पनि हालतमा कर्णको उपस्थिति युद्ध क्षेत्रमा अग्राह्य नै हुनुपर्छ भन्ने सर्त राख्नु भएको थियो । र उसले पनि सहर्ष मान्यो जुन कुरा अरू सबैसँग गोप्य नै राखिएको थियो । देखाउन त पितामहसँग अब म कहिले पनि बोल्ने छैन भनेर प्रतिज्ञा पनि गरेको थियो रे। जब पितामह सर शय्यामा थिए, ऊ पितामहसँग भेट्न गयो रे, अनि पितामहले भन्नुभयो रे- कर्ण तिमीलाई सबै थाहा छ र पनि थाहा नपाएजस्तो जुन गरेका छौँ, त्यो नै तिम्रो महानता हो। हामीलाई जुन कुरा थाहा छ, अरूलाई अहिले थाहा दिनु जरुरत छैन। कर्णले चुपचाप सुन्यो रे। अनि पितामहलाई प्रणाम गर्दै सर शय्यालाई परिक्रमा गर्‍यो रे अनि रुँदै बाहिरियो रे। यो कुरा एक दिन मलाई कृष्णले सम्झाउँदा भन्दै थियो। तर केही बोलिन। कर्ण र द्रौपदी पुत्रहरूको मात्र मलाई चिन्ता थिएन, ती गान्धारी दिदीका १०० भाइ र धेरै कुटुम्बहरूको पिर थियो जबकि दुर्योधनलाई सम्पूर्ण परिवार युद्धमा कर्णको मात्र भर थियो भनिन्थ्यो।

विदुरले जहिले पनि कर्णलाई दुर्योधनबाट टाढा राख्ने कोसिस गरेकोले पनि कर्णमा एउटा निराशा उत्पन्न भएको थियो रे। भन्थ्यो रे- मलाई सबै थाहा छ। के गर्नुहुन्छ, के गर्नुहुँदैन मलाई जत्ति सबैलाई थाहा भएको भए यो समस्या आउने नै थिएन। तर कर्ण कसै गरी पनि दुर्योधनबाट टाढा हुन सकेन। कृष्णलाई भन्यो रे पनि- म कसरी भाइहरूसँग लागौँ ? दुर्योधन मेरै बलले निहुँ खोजिरहेको छ। उसलाई पितामह, गुरुहरू द्रोणाचार्य, कृपाचार्यहरूले निष्पक्षताका साथ उसका पक्षमा बोल्लान्, युद्ध गर्लान् भन्ने नै छैन र मेरै भरमा संसारको चक्रवर्ती हुने सपना छ। विदुरजीसँग त उसलाई पहिले देखि नै विश्वास छैन। खालि काका भएकाले मात्र दरबारमा आउन जान दिएको हो, महामन्त्रीकै रूपमा त त्यो पदबाट उहिल्यै निकाल्ने थियो। कृष्णले भन्यो रे- राज्यको सम्राट् हुन पाउँछौ। त्यति मात्र होइन कर्ण, तिमीले त द्रौपदी पनि भोग गर्न पाउँछौ। अनि हाँस्यो रे। र, भन्यो रे- कृष्णले भनेपछि पक्कै त्यो पूरा होला तर अब म कुनै पनि लालचमा पर्दिन किनभने सत्य नै मेरो सबैभन्दा ठुलो अस्त्र हो, शस्त्र हो र शास्त्र हो। इमानदारिताले मात्र कर्णको रूपमा म स्थापित भएको हुँ। तपाईँलाई थाहा नै छ, सत्यको रक्षाका लागि मैले आफ्नो छाला पनि काढेर दिएँ भने अब त्योभन्दा बढी के त्याग गर्नु पर्ला र भाइहरूका लागि ? दुर्योधनले वीर गति प्राप्त गर्‍यो र अरूलाई त्यागका लागि उछिन्यो। वास्तवमा नै दुर्योधन बहादुर र राजा हुने गुणले युक्त थियो तर एउटा कारणलाई आधार बनायो र ढिपी कस्यो। वास्तवमा ऊ आफैँ कुर वंशी थिएन र पनि पाण्डुका छोराहरूलाई कुर वंशी पनि होइनन् र राज्यका अंशियार हुन सक्दैनन् भन्ने कुरामा अडान लियो। भन्न त दरबारमा सबै जना कर्णको बलले पाण्डवसँग लडाइँ गर्न तम्सेको भनेर दुर्योधनको बदख्वाइँ गर्थे तर शकुनिको दोहोरो चरित्र नै परिवार युद्धका कारणले भारत वर्ष नै उजाड भयो।

लाग्छ दुर्योधनलाई कर्णको असली परिचय थाहा थिएन। शकुनिलाई पनि थाहा थिएन। शकुनिको असली नियत त कि त गान्धारीलाई थाहा थियो, कि त कुन्तीलाई थाहा थियो। तर कुन्ती मौन बस्थिन् किनभने गान्धारीले नै बारम्बार दाइको नियत खोटो छ भनेर भन्ने गर्थिन्। नत्र त्यत्रो गान्धार राज्य छोडेर कुटुम्बका घरमा बस्नु किन पर्थ्यो भन्ने गान्धारीको धारणा थियो। गान्धारीलाई के पनि आभास थियो भने जुन कुलकी उनी कुल बधू थिइन् र महारानी थिइन्, त्यही कुलको समूल नष्ट गर्ने प्रण लिएर शकुनि गान्धार छोडेर हस्तिनापुर बसेका थिए। शकुनिका सम्पूर्ण कामहरू प्रतिशोधजन्य बुझिन्थ्यो र पनि देख्दा कौरवका लागि मात्र लागि परेको भान हुन्थ्यो।

भरतको भारतमा धेरै राज्यहरू भए पनि, अधीनस्थ राज्यहरूलाई स्वतन्त्र छोडे पनि एक जना चक्रवर्तीको आवश्यकता पर्ने नै भयो। त्यसैले होला, धृतराष्ट्र, पाण्डु र विदुरको पिताको नाममा विचित्रवीर्यको नाम नै भनिन्थ्यो र पिता व्यास जिउँदै भएर पनि धृतराष्ट्र र पाण्डुले बाबुका नाममा र गान्धारी र कुन्तीले ससुराको नाममा तर्पण दिन्थे, श्राद्ध गर्थे किनभने पहिलो वामाङ्गी नभई तर्पण र पिण्ड दान सफल नहुने भएकाले ती दुई रानीहरू सधैँ महाराजहरूसँगै हुन्थे। त्यो औपचारिकता पूरा गरिन्थ्यो कुर वंशी नै हुन् भन्नका लागि पनि।

साँच्चै राज्य भनेको औपचारिकताको एउटा समष्टि स्वरूप हो कि क्या हो ? किनभने पछि पनि पाण्डवका पाँच भाइकै बाबुहरू धर्मराज, वायु, इन्द्र र अश्विनीकुमार जिउँदै थिए र पनि महाराज पाण्डुका नाममा श्राद्ध गरिन्थ्यो र युधिष्ठिरले नै वैदिक रीतिअनुसार श्राद्ध गर्ने गर्थे। हुन त जसको खेतमा बाली लगायो उसैको हुन्छ नि त बाली भन्ने नीति थियो नि त भारत राज्यमा। भारतमा पुत्रको महत्त्व यस कारणले पनि बढी भयो होला कि कहिलेकाहीँ पुत्रविना पनि राज्य गर्ने व्यक्तिको समस्या परेको पाइन्थ्यो। पछि पनि कुरुवंशमा पनि कसो कसो उत्तराले गर्भ धारण गरेकोले परीक्षितले राज्य गर्न पाउने भएको हो। भएका सबै मारिए। गान्धारीका १०० भाइ छोरा सबै मारिए। पाण्डवका द्रौपदीबाट जन्मिएका पाँचै भाइ छोराहरू पाण्डव सम्झेर गुरु पुत्रले मारे। अर्जुनको सुभद्राबाट जन्मिएको अभिमन्युले युद्धमै वीरगति प्राप्त गर्‍यो। अर्जुनको चित्राङ्गदाबाट जन्मिएको बभ्रुबाहनलाई पहिले नै राज्यको भावी प्रतिनिधि घोषणा नै गरिएन। युयुत्सु वेश्या पुत्र भएकाले राज्यको हकमा परेन। अश्वत्थामालाई त लागेको थियो रे उनले कुन्तीका पाँच ओटा छोराहरूलाई नै मारेर सिद्ध्याएँ। पाँच ओटै टाउको लिएर जब गुरु पुत्र दुर्योधनलाई देखाउन गएका थिए । अनि दुर्योधन पहिले त खुसी भएर हाँस्यो र भन्यो- गुरु पुत्र, बल्ल मलाई सन्तोष भयो र ढुक्कसँग मर्ने भएँ। अनि टाउकाहरूको राम्रोसँग अवलोकन गर्ने बित्तिकै पाण्डव कुमारहरूको अनुहार चिनेर दुर्योधनले रुँदै भन्यो- द्रोणी, यो तिमीले के गरेको ? अब हाम्रो राज्यमा कसले राज्य गर्छ ? सबै त मार्‍यौ तिमीले ? हाय मेरा छोराहरू, नाहकमा तिमीहरूको ज्यान पो गएछ। अनि दुर्योधन विषादले गर्दा गुरु पुत्रसँग बोल्दै बोलेन अनि त्यत्तिकै मूर्च्छा परेर वीरगति ग्रहण गरेको थियो। साँच्चै राजा हुने क्षमता दुर्योधनमा थियो नै। तर के गर्नु, ढिपी र आडम्बरले अनि राज्यको अति लोभले भरतका सन्तानहरूको नाश भयो।

एक पटक व्यासले कुन्तीलाई भन्नु भएको थियो- कुन्ती, आखिर तिम्रै वंशले भरत कुल थाम्ने हो। यो सबै नाटक हो केही समयका लागि। तिमी ढुक्क होऊ, तिम्रै वंशले कलियुगलाई पनि नेतृत्व सुरु गर्नेछ र लामो समयसम्म भारतको राज्य गर्नेछन्।

पुत्रको महत्त्व जुन युगमा पनि देखिन्छ। सत्ययुग र त्रेता युगमा मानवीय समागम आवश्यक थिएन रे बच्चा पाउन। मात्र इच्छा हुनुपर्‍यो। यही द्वापर युगमा मात्र समागम चाहिएको थियो। तर राज्यमा पुत्रको लागि नै विवाह गर्ने चलन छँदै थियो। कुरु राज्यमा बाल विवाह थिएन। पुत्रका प्रकार यस्ता थिए कुरु राज्यमा अर्थात् तत्कालीन भारतमा जसको राजधानी हस्तिनापुरमा थियो। स्वयंजात पुत्र भनेको आफ्नै पत्नीबाट आफैँद्वारा जन्माइएका हुन्।

प्रणीत पुत्र भनेको आफ्नी विवाहिता पत्नीद्वारा कुनै उत्तम पुरुषसँग अनुरोध गरेर वा आफ्नो आवश्यकता पूरा गर्न सहयोगमा जन्माइएको छोरो हो।

परिक्रीत पुत्र भनेको आफ्नी विवाहिता स्त्रीमार्फत अरू कसैलाई पैसाको लोभ देखाएर जन्माइएको पुत्र हो।

पौनर्भव पुत्र भनेको कुनै नारीको पहिलो विवाह पश्चात् दोस्रो विवाह भयो र पछिल्लो पतिबाट जन्मेको पुत्र पनि पुत्र नै हो। त्यसलाई पहिलो पति र दोस्रो पति दुवैले पुत्र मान्ने चलन छ।

कानीन पुत्र भनेको विवाह पूर्व नै कन्या माताबाट जन्मेको पुत्र हो।

स्वैरिणीज पुत्र भनेको आफ्नी विवाहिता नारीका गर्भबाट आफ्ना पतिबाहेक अरूबाट समान स्तरको पुरुष वा उत्तम पुरुषबाट जन्मेको पुत्र नै स्वैरिणीज हो। यी सबै पुत्रहरू वैदिक रीतिले जन्मेको मानिने र पिताको सम्पत्तिको हकदार हुन्थे । स्वयंजात र पौनर्भव पुत्रहरू औरस पुत्र मानिने चलन थियो भने कानीन पुत्र औरस नभए पनि व्यवहित- औरस पुत्र मानिन्थे।प्रणीत, परिक्रीत तथा स्वैरिणीज पुत्रहरूलाई क्षेत्रज पुत्र मानिन्थ्यो । तिनीहरूलाई आफ्नै दाजुभाइ मान्नै पर्छ भन्ने भारत देशको चलन थियो।

यी बाहेक पनि अरू प्रकारका छोराहरू हुन्छन् भनेर मानिएको थियो। जस्तो कि दत्तपुत्र वा दत्तक पुत्र भनेको मातापिता जुन छोरो अरू छोरा नहुनेलाई दान दिन्छन् धर्मपुत्र बनाउन, त्यो दत्तपुत्र भयो।

क्रीतपुत्र किनेर ल्याएको छोरो क्रीतपुत्र भयो। यदि कुनै बालक आफैँ आएर म त तपाईँहरूको छोरो भएँ भन्छ भने त्यो कृत्रिम पुत्र हुन्छ। कुनै युवतीको विवाह हुँदै गर्भवती रहिछ भने त्यसबाट जन्मेको पुत्र सहोढ पुत्र भयो। सहोदरभन्दा अन्य जातिको पुत्र पालन गरिएको थियो भने त्यो ज्ञातिरेता पुत्र हुन जान्थ्यो । आफ्नो भन्दा तल्लो जातकी स्त्रीबाट जन्मेको छोरो हीनयोनिधृत मानिन्थ्यो ।

आखिर कुरु राज्यमा औरस, लब्ध, क्रीत, पालित एवं क्षेत्रजले नै आफ्ना कुलको तरण तारण गर्ने अधिकार पाएका हुन्थे । हुन त पितामहले भीमलाई एक दिन अर्ती दिने क्रममा २० प्रकारका छोराहरूको बयान गर्नु भएको थियो भनेर भीमले एक दिन सबैलाई भन्दै थिए। पुत्रीका पुत्र मातामहको वंश रक्षक हुने चलनलाई त बभ्रूबाहनले पूरा गरेकै थियो। अनि सबैभन्दा कुरु देशको चलन के राम्रो थियो भने क्षेत्रज पुत्रमा उसको खासै पिताको कुनै हक हुँदैन जस्तो कि बालीमा खेती लगाउनेको हक जस्तै। गर्भवती महिलासँग बिहे गरेर आएको सन्तानलाई पनि आफ्नै सन्तान जस्तै मान्ने चलन थियो तर ब्रजमा त्यस्तो कतै सुनिएन। कर्णको बारेमा अधिरथलाई केही थाहा नभएर नै उसले आफ्नै कर्ममा कर्णलाई राख्यो। त्यस्तै थियो चलन किनभने कसको छोरो हो भन्ने थाहा नभएपछि त कर्म त जसले पाल्यो उसैको हुने भयो।

ब्राह्मण पुत्र नै भए पनि यदि शूद्रले केही थाहा नपाएर पालेको छ भने उसको सबै कर्म शूद्र झैँ नै हुने भयो। तर कानीन पुत्र हुँदा पछिको बाबुको नामबाट परिचित हुने हो, तै पनि व्यास त शन्तनु महाराजका कानीन पुत्र भएर पनि पराशरकै पुत्रको रूपमा प्रख्यात हुनुभयो। त्यसो त कर्ण पनि पाण्डुकै कानीन पुत्र हुनुपर्ने हो, तर कुन्तीले त्यो गोप्यता राखेकोले ऊ अधिरथको पुत्र भनियो, राधाकै पुत्र भनियो र राधेय भनेर प्रख्यात भयो। त्यसो हुनुमा कुमारी आमाको गर्भमा कसको बच्चा पालिएको थियो भन्ने केरकार हुने भएकाले सामान्यतः नियम के राखिएको रहेछ भने राज्यले त्यसको जानकारी त राख्ने तर गोप्यताका साथ व्यवहार गर्ने। कुमारीको प्रसवलाई त कसले पो सराहना गर्छ र ? त्यसै भएकाले त कुन्तीले कर्णलाई बगाउनु परेको थियो।

अरूबाट नियोग गरेर पाउने चलन त ग्राह्य नै थियो तर एउटी महिलाले पुरुषको आज्ञाले तीन ओटाभन्दा बढी पाउनु हुन्न भन्ने अघोषित मान्यताचाहिँ थियो र त कुन्तीलाई तीन ओटा छोरा पाएपछि पनि फेरि मानव वा राजा वा ऋषिबाट अर्को बच्चा पाउन पाण्डु महाराजबाट भएको ढिपीलाई नमानेर चौथो बच्चा र पाँचौँ बच्चा माद्रीबाट पाएको देखियो। अश्विनीकुमार न छुट्टिने अनि जुम्ल्याहा छोरा एकै पटक पाइन् माद्रीले। लेखेको कसले मेट्न सक्छ र ? वास्तवमा कुन्तीलाई डर के भयो भने यसै पनि मेरा चार ओटा भई नै सके। अरूले देख्दा पो तीन ओटा त, तर कुन्तीको मनमा त थाहा छँदै थियो नि। अरूलाई पो ढाँट्न सकिन्छ, आफूलाई त आफूले कसरी ढाँट्नु र ?

हुन त राजाका धेरै छोरा हुनु राम्रो मानिन्थ्यो तर राज्यका लागि हुने कलहले गर्दा छोरा त दुई तीन ओटामात्र ठिक देखिन्थ्यो तर कुन्तीले त बाध्य भएर पाँच ओटाको व्यवस्था गर्नुपर्‍यो। महाराज धृतराष्ट्रका गान्धारीका तर्फबाट १०० ओटा र वैश्य कुमारीबाट जन्मेका युयुत्सुसमेत गरी १०१ ओटा छोरा थिए। सधैँ विवाद, झगडा। सबैभन्दा असलचाहिँ विकर्ण भन्ने सानो छोरो थियो। सबै एकै पटक जन्मेका भए पनि हुर्कने क्रममा ठुलो र सानो भनेर विभेद गरिएको थियो। जस्तो कि पाण्डुको पनि नकुल र सहदेव सँगै जन्मे पनि सहदेवलाई सानो भनेर मानेका थिए। फेरि द्रौपदीको कथा अर्कै छ पाँच पति पाउने कथा। दोषचाहिँ कुन्तीलाई लगाइयो जे ल्याएको छ बाँडेर खाओ पाँचै जनाले भनेको कुराको आधारमा। क्रमशः…

स्रोत : आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *