कोटेश्वर चोकको जाम हटाउन ३१ अर्ब २ करोड ऋण

काठमाडौँ कोटेश्वर चोकको जाम हटाउन बनाउन लागिएको फ्लाइओभर र सुरुङमार्गका लागि सरकारले जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड रुपैयाँ) बराबरको सहुलियत ऋण लिनेसम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्ट भनिएको यो परियोजनासम्बन्धी यो निर्णय मन्त्रिपरिषद्को माघ १० को बैठकले गरेको हो। सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन। जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि सहुलियत ऋणसम्बन्धी सौदाबाजीको अवस्थामा पुगेको हो।

कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लागि जाइकाले तीन विकल्प दिएको थियो। सरकारले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए। तीनकुनेपट्टीबाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १।३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो। कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १।२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो।

फ्लाइओभर सहित तीनकुने-जडीबुटी दुईतर्फी सुरुङमार्ग तेस्रो विकल्प थियो। करिब २४ अर्ब लागतको यो परियोजना तयार गर्दा रिंगरोडको आवतजावत रोकावटरहित हुने जाइकाको अध्ययनले देखाएको थियो।

अब मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ। जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ। यो सुरुङ विमानस्थलको रनवे सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खनिनेछ।

सुरुङले रन-वे तर्फको भाग छुने छैन। तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ। यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ।

श्रोत: आदित्य दाहाल/आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *