क्यानडा पठाइदिन्छु भन्दै ठगी, अन्तर्वार्ता लिँदै गर्दा २ विदेशीसहित ६ जना पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना विदेशी नागरिकसमेत छन् । पक्राउ परेका ६ जनामध्ये तीन जना महिला हुन् ।

कास्कीको पोखरा महानगरपालिका-१०, बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरूलाई बोलाएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलवार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३, पाटनबेसी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९, महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।

यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपालनगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराकी पार्वती सुनारले ‘मेरी छोरी क्यानडामा छे, सिधै क्यानडाको भिसा निकालिदिन्छे र राम्रो काममा लगाइदिन्छे’ भन्दै प्रलोभन देखाउने गरेको आरोप छ । उनले अन्तर्वार्ता लिन विदेशबाट मानिसहरू आएका छन् भन्दै प्रतिव्यक्ति दुई हजार रूपैयाँ अन्तर्वार्ता शुल्क उठाएको आरोप छ । अन्तर्वार्तामा पास भएपछि ३० लाख रूपैयाँ दिनुपर्ने भन्ने गरेको आरोप उनीहरूमाथि छ ।

उनीहरूलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *