भारतको गणतन्त्रको दिवसमा राजदूतको सन्देशः छिमेकी सधै भारतको पहिलो प्राथमिकता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले आफ्नो अनवरत विकास यात्रामा छिमेकी देशहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले सबैको साथ, सबैको विकास र सबैको विश्वासभन्ने भारतको मूलमन्त्रमा नेपाललाई साथ लिएर अघि बढिरहेको बताएका हुन् ।

भारतको ७५ औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार जारी गरेको सन्देशमा उनले भारतले यस अमृत कालमा विकसित राष्ट्र बन्ने यात्रामा हासिल गरेको प्रगति थप गतिशील छिमेकी पहिलो नीतिमा अभिव्यक्त भएको बताएका छन्। उनले नेपालसँगको सम्बन्धमा पनि यही कुरालाई जोड दिदै पारस्परिक लाभका लागि सहस्राब्दी पुरानो सभ्यतागत सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गरिएको बताएका छन् ।

राजदूत श्रीवास्तवले आफ्नो सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको संस्मरणगर्दै दुई देशका प्रधानमन्त्रीले गरेका महत्वपूर्ण निर्णयहरुले सम्बन्धलाई गति प्रदान गर्न र साझेदारीलाई ‘सुपरहिट’ बनाउन मद्दत्त पुगेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ एकीकृत जाँच चौकी (आइसिपी) निर्माण गर्ने घोषणा, नेपालको पारवहन कार्गोका लागि भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिबारे सम्झौता, अन्तरदेशीय मालवाहक रेलको संचालन, नेपालको सुदूरपश्चिमलाई भारतसँग जोड्न शिरसा र झुलाघाटमा नयाँ मोटरेबल पुलको निर्माण र निर्बाध वित्तीय कनेक्टिभिटीका लागि डिजिटल भुक्तानीको सहजीकरण जस्ता निर्णयहरू भएका थिए ।

यस्तै दुवै देशले ऊर्जा कनेक्टिभिटी विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको राजदूत श्रीवास्तवले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । उनले १३२ केभी क्षमताका तीनवटा नयाँ अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, ४०० केभी क्षमताको गोरखपुर- नयाँ बुटवल प्रसारण लाइनको भारततर्फको खण्डको निर्माण गर्न भूमिपूजन, नेशनल थर्मल पावर कर्पोरेशन (एनटिपीसी) र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि सम्झौता, मोतिहारी-अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको शिलान्यास र अमलेखगन्ज र चितवनबीच र सिलिगुरी र झापाबीच नयाँ पाइपलाइनका लागि भएको सम्झौताले ऊर्जाको सम्पूर्ण क्षेत्रमा सहकार्यलाई बलियो बनाएको राजदूत श्रीवास्तवको सन्देशमा उल्लेख छ ।

यस्तै दश वर्षको अवधिभित्र नेपालबाट भारतमा हुने विद्युत निर्यातको परिमाण १० हजार मेगावाट पुऱ्याउने लक्ष्य राखेको छ । ‘नेपालले सन् २०२३ मा भारतमा १५ अर्ब रुपैयाँको विद्युत निर्यात गरेको छ । यो निर्यातले यस पारस्परिक लाभकारी सहकार्यको अपार सम्भावनालाई देखाउँछ । दुवै देश बंगलादेशसँग ऊर्जा क्षेत्रमा क्षेत्रीय व्यापार बढाउने प्रक्रियामा छन्,’ राजदूत श्रीवास्तवले भनेका छन् ।

‘भरपर्दो साथी र साझेदारको रूपमा रहेको भारत सङ्कटको समयमा पनि पहिलो रेस्पोन्डर रहदै आएको छ । जाजरकोटमा भूकम्प गएलगत्तै भारतले तुरून्तै नेपाललाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको थियो । भारतका विदेशमन्त्री डा एस जयशंकरको हालै भएको नेपाल भ्रमणका दौरान प्रिफ्याब घर र अन्य अत्यावश्यक सामग्रीसहितको पाँचौं चरणको राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो । भारतले नेपालको पुनर्निर्माणमा सहयोग गर्न १००० करोड रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा पनि गरेको छ’, राजदूत श्रीवास्तवले आफ्नो सन्देशमा भनेका छन् । ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका विद्यार्थीहरूद्वारा निर्मित स्याटेलाइटको प्रक्षेपणका लागि भएको सम्झौता, चन्द्रयान ३ मिशनले देखाएको अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा भारतको क्षमताले भविष्यमा सहकार्यका लागि नयाँ बाटाहरू पनि खोलेको उनले उल्लेख गरेका छन् ।

‘हाम्रा जनताजनताबीचको पुरानो सम्बन्धलाई अझ बलियो बनाउन क्रिकेट एक उत्साहजनक क्षेत्रको रूपमा उदाएको छ । विकासको यात्रामा अघि बढ्दै गरेको नेपालका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र मल्टिमोडल कनेक्टिभिटीका लागि पीएम गतिशक्ति जस्ता क्षेत्रमा भारतले बटुलेको अनुभव निकै काम लाग्न सक्छ, ‘ राजदूत श्रीवास्तवले भनेका छन् ।

भारत र नेपालले विश्वव्यापी क्षेत्रमा पनि सँगै मिलेर काम गरिरहेको छ । भारतले आयोजना गरेको भ्वाइस अफ ग्लोबल साउथमा र गत वर्ष भारतको अध्यक्षतामा सम्पन्न भएको जी२० शिखर सम्मेलनको फाइनान्स ट्र्याक बैठकमा नेपालको रचनात्मक सहभागीताले यसलाई प्रतिबिम्बित गरेको उनको सन्देशमा उल्लेख छ ।

एक पृथ्वी, एक परिवार, एक भविष्य को नारा दिई जी २० को अध्यक्षता सफलतापूर्वक निभाएको भारतले बलियो साथसाथै दिगो, सन्तुलित र समावेशी विकासलाई र विकासशील राष्ट्रका आआफ्ना चाहना एवम् आकांक्षालाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतालाई औल्याएको थियो । यसले नेपाल र भारतबीचको समन्वयलाई थप सुदृढ गर्ने नयाँ अवसर प्रदान गरेको छ ।

भारतले सन् १९५० मा भारतको संविधान कार्यान्वयनमा आएको दिनमा गणतन्त्र दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *