इट्टाभट्टामा हालेर कोरोनाको खोप नष्ट गर्ने तयारी

चिन सरकारले निःशुल्क अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोप नष्ट गर्ने तयारी हुँदा राज्यको ढुकुटी बालुवामा पानी खनाएजस्तै हुने भएको छ ।

सरकारले खोपको ४० लाख मात्रा इट्टा भट्टामा राखेर नष्ट गर्ने तयारी गरेपछि विज्ञहरुले यति ठूलो मात्राको खोप खेर फाल्नु गम्भीर लापरबाही भएको बताएका छन् । उनीहरुले खोप व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च भएको उल्लेख गरेका छन् ।

चीन सरकारले निःशुल्क दिएको खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाख १२ र १४ गते दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो ।

साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ । उक्त खोपको म्याद गएको पुस ७ मा सकिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागिएको हो ।

उनले सिनोभ्याक खोप बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तर्क गरेका छन् । ‘पहिलो र दोस्रो डोजका लागि प्रयोग गर्न सकिएन,’ बुढाथोकीले भने, ‘अब नष्ट गर्ने तयारी हुँदै छ ।’

उनले खोप मेसिन हालेर निर्मलीकरण वा अत्याधिक तापक्रम (इट्टाभट्टा) हालेर नष्ट गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीन सरकारको दबाबकै कारण उक्त खोप ल्याउन बाध्य भएका थिए ।

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले त्यसबेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएको थियो । डब्लुएचओले सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको थियो ।

तत्कालीन समयमा अधिकांश मानिसले खोपको विश्वसनीयतालाई हेरी मोडेर्ना, कोभिसिल्ड तथा फाइजर खोप लगाएका थिए । जसका कारण सिनोभ्याक खोप प्रयोगमा आएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर