हिरासत कक्षबाट थुनुवा भगाएर आफू पनि फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ

१६ वर्षअघि लागुऔषध मुद्दाका थुनुवा भगाएर स्वयं पनि फरार भएका प्रहरी जवान पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान वीरवल राय यादव पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले बिहीवार नेपाल-भारत सिमानाको काँकडभिट्टाबाट पक्राउ परेको हो ।

उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका थिए ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार उनलाई काठमाडौं ल्याएर माघ शुक्रवार आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

रौतहटको पथरावुधराम-३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत प्रहरी जवान यादवले नक्कली चिट आफैं बनाई आफैंले फिल्ड अधिकृत (इन्सपेक्टर) को किर्ते दस्तखतसमेत गरेर ‘इन्सपेक्टर साहबले बोलाउनुभएको छ’ भनी हिरासत कक्षबाट थुनुवालाई हतकडीसहित बाहिर निकालेर भगाएका थिए ।

प्रहरी निरीक्षकको किर्ते दस्तखत गरी प्रहरी जवान यादवले आलमलाई हिरासतबाट निकाली कालिमाटी-कलंकी-बुटवल हुँदै भारतको भारतको रक्सौल पुर्‍याएका थिए ।

त्यसबापत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रूपैयाँ पाएको अनुसन्धानबाट खुलेको छ । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरू गरेका थिए ।

अहिले उनीसँग नौवटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *