नयाँ विधान मस्यौदा पारित भए यस्तो हुनेछ माओवादी केन्द्रको सांगठनिक संरचना

नेकपा (माओवादी केन्द्र)ले प्रस्तावित नयाँ विधान मस्यौदामार्फत पार्टीको सांगठनिक संरचना परिवर्तन गर्ने भएको छ।

माओवादी केन्द्रको नयाँ विधान मस्यौदामार्फत अब सबै तहका समितिहरूमा ४९ प्रतिशत सदस्य समानुपातिक विधिबाट छनौट गरिँदा ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट सदस्यहरू चयन हुने व्यवस्था राखेको छ। यसरी समिति गठन गर्दा सकेसम्म सहमतिलाई बढी प्राथमिकता दिने र सहमति नभएमा मात्र निर्वाचन गर्ने व्यवस्था नयाँ प्रस्तावित विधानमा राखिएको छ।

त्यस्तै, सबै तहका समितिमा महिलालाई ३५ प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्ने, समानुपातिकको ४९ प्रतिशतलाई जनसंख्याको हिसाबमा दलित, मुस्लिम, मधेशी, थारू, आदिवासी जनजाति र खसआर्य समुदायको सिट संख्या निर्धारण गरिने र यसमा पनि ५० प्रतिशत महिला प्रतिनिधि हुने व्यवस्था नयाँ प्रस्तावित विधानमा राखिएको हो।

यस्तै, प्रस्तावित विधानमा १ सय ५० सदस्यीय केन्द्रीय समिति, पोलिटब्युरो केन्द्रीय समितिको एक तिहाइ र स्थायी समिति पोलिटब्युरोको एक तिहाइ हुने, सात सदस्यीय पदाधिकारी जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष र एक महासचिव, एक उपमहासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ।

त्यस्तै, १२५ सदस्सीय प्रदेश समिति हुने र जसमा अध्यक्ष १, उपाध्यक्ष ३ जना, सचिव, सहसचिव ३ जना र कोषाध्यक्ष गरी ९ सदस्यीय पदाधिकारी हुने व्यवस्था उल्लेख छ। दुई सयभन्दा बढी सदस्य भएको जिल्ला समिति अब बढीमा ९९ जना सदस्यीय हुने व्यवस्था राखिएको छ। जिल्लामा अध्यक्ष १, दुई उपाध्यक्ष, सचिव, दुई, सहसचिव र कोषाध्यक्ष गरी बढीमा ७ सदस्य पदाधिकारी चयन हुने व्यवस्था राखिएको छ।

स्थानीय समितिको संरचना र संख्यामा पनि हेरफेर गरिएको छ। महानगरस्तरीय समितिमा ९९ जना, उपमहानगरस्तरीय समितिमा–७५ जना, नगरस्तरीय समितिमा–५५ जना, गाउँ समिति/शाखा समिति ४५ जना, वडा समिति/उपशाखाहरूमा–२५ जना, टोल/प्रशाखामा–१५ जना, पार्टी सेल–३ जना सदस्सीय हुने व्यवस्था उल्लेख गरिएको छ।

फागुन पहिलो साता काठमाडौंमा हुने अधिवेशनले उक्त विधान पारित गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *