सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएका छन्।

बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताए।

आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताए। उनले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्याउने माध्यम जिकिर गरे।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट नेपाल टेलिभिजनलाई अघि बढाउन, यसको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन र यसका सबै काम कारबाहीलाई अघि बढाउन सरकार सदैव सकारात्मक छ। हामीले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेका छौँ। नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर