नेपाली सांसद्‍हरू भारतको लोकसभा भवनमा (तस्बिरसहित)

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका प्रतिनिधिमण्डलहरू भारतको लोकसभा भवनमा पुगेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु बुधबार दिल्लीस्थित् लोकसभा भवनमा पुगेर त्यहाँका सभामुखसँग छलफल गरेका हुन्।

लोकसभा भवनमा समितिका प्रतिनिधिमण्डलहरूलाई लोकसभाका सभामुख ओम बिरालाले स्वागत गर्नुका साथै विभिन्न विषयमा छलफल भएको लोकसभा सचिवालयले जनाएको छ।

नेपालको प्रतिनिधिमण्डल मंगलबार भारतको राजधानी दिल्ली पुगेको थियो। भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरू भारत गएका हुन्।

भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् ।

उनीहरुलाई मंगलबार विमानस्थलमा भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको थियो। ३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसँग कुराकानी गर्नको लागि विभिन्न सुझावहरूसमेत दिएको थियो।

जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र मानव बेचबिखनको समस्यालगायतका एजेन्डा उठाउन सुझाव दिएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *